काठमाडौं, २१ जेठ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड का १०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।
समितिले २०८३ जेठ २० गतेको निर्णयअनुसार उपलब्ध ऋण विवरणका आधारमा ऋणीहरूको नाम सार्वजनिक गरिएको जनाएको छ। सार्वजनिक गरिएको सूचीमा नाम परेका व्यक्तिहरूमध्ये साविकमै ऋण चुक्ता गरिसकेका भए प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।
त्यस्तै, अझै ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी बाँकी रकम चुक्ता गर्न सूचित गरिएको छ। समितिले तोकिएको समयमा ऋण भुक्तानी नगरे प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार सहकारीमा रहेको रकम फिर्ता गराउने, बचतकर्ताको हित संरक्षण गर्ने तथा सहकारी क्षेत्रप्रतिको विश्वास कायम राख्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको हो ।
समितिले सम्बन्धित सबै ऋणीहरूलाई आवश्यक कागजातसहित सम्पर्कमा आउन आग्रह गर्दै सहकारीको वित्तीय व्यवस्थापनलाई व्यवस्थित बनाउन सहयोग गर्न अनुरोध गरिएको छ ।





















