दाङ, २१ जेठ
लुम्बिनी प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्य ले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस गरेपछि पाँच जना नयाँ मन्त्री नियुक्त भएका छन्।
पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (एमाले) बाट चार जना तथा जनता समाजवादी पार्टी (जसपा) बाट एक जना मन्त्रीलाई समावेश गरिएको छ। नयाँ मन्त्रीहरूलाई मन्त्रालयगत जिम्मेवारीसमेत तोकिएको छ।
एमालेका तुलसीप्रसाद चौधरी लाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने रामजी प्रसाद घिमिरे स्वास्थ्य मन्त्री नियुक्त हुनुभएको छ। त्यसैगरी रत्नबहादुर खत्री ले भौतिक पूर्वाधार विकास मन्त्रालयको नेतृत्व गर्नेछन् भने डिल्लीराज भुसाल लाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यस्तै, जसपाका भण्डारीलाल अहिर लाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। उक्त मन्त्रालय यसअघि जसपाकै आदेशकुमार अग्रवाल ले सम्हाल्दै आउनुभएको थियो।
प्रदेश सरकारका अनुसार नव नियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रम सोमबार, जेठ २५ गतेका लागि तय गरिएको छ। मन्त्रिपरिषद् पुनर्गठनसँगै प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।





















