Spread the love

काठमाण्डौ, २१ जेठ ।
सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा नेपालले मलेसियामाथि १६७ रनको फराकिलो जित निकाल्दै समूह ‘ए’ को विजेता बनेको हो ।

नेपालले दिएको २७६ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा ९ विकेट गुमाएर केवल १०८ रनमा समेटियो । कप्तान सायद अजिजले सर्वाधिक ५४ रन बनाउनुबाहेक अन्य ब्याटरबाट उल्लेख्य प्रदर्शन हुन सकेन । शर्विन मुनियान्डीले १८ तथा मुहम्मद हाजिकले १३ रन बनाए ।

नेपालका लागि शेर मल्लले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिए । त्यसअघि ओपनिङ ब्याटर कुशल भुर्तेलको कीर्तिमानी शतक मद्दतमा नेपालले विशाल योगफल खडा गरेको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनाएको थियो । भुर्तेलले ५४ बलमा १४ चौका र ८ छक्कासहित १२६ रन बनाए । अर्का ओपनर आसिफ शेखले २४ बलमा ६८ रन बनाए । टी–२० मा भुर्तेलले लगातार दोस्रो तथा करियरको तेस्रो शतक प्रहार गरेका हुन् । भुर्तेलले यही प्रतियोगिताको पहिलो खेलमा चीनविरुद्ध ३५ बलमा शतक प्रहार गरेर ४३ बलमा १२९ रन बनाएर आउट भएका थिए ।

मलेसियाका लागि विरानदीप सिंहले ३ तथा विजय उन्नी र सायद अजिजले २–२ विकेट लिए । नेपालले चीनविरुद्ध २२१ रनको अर्को विशाल जित निकालेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्