काठमाडौं, २१ जेठ ।
नापी विभागले जग्गासम्बन्धी सेवा प्रवाहलाई थप सहज र प्रविधिमैत्री बनाउन ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक गरिएको हो ।
नापी विभागका अनुसार ‘मेरोकित्ता’ एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ । सेवाग्राहीले प्ले स्टोर तथा एप स्टोरबाट एप डाउनलोड गरी घरमै बसेर जग्गासम्बन्धी विभिन्न सेवा लिन सक्नेछन् । एपमार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखांकनका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आवेदन दर्तापछि प्राप्त हुने ओटीपीको प्रयोग गरी सेवाग्राहीले आफ्नो आवेदनको अवस्था नियमित रूपमा अनुगमन गर्न सक्नेछन् ।
त्यस्तै, ई–सेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत राजस्व भुक्तानी गर्ने सुविधा पनि एपमा समावेश गरिएको छ । फिल्ड रेखांकन सेवाका लागि आवश्यक शुल्कसमेत अनलाइनबाटै तिर्न सकिने नापी विभागले जनाएको छ । एपमा सम्बन्धित नापी कार्यालयका कार्यालय प्रमुख तथा सूचना अधिकारीको सम्पर्क विवरणसमेत उपलब्ध गराइएको छ । विभागका अनुसार ‘मेरोकित्ता’ सेवा मोबाइल एपसँगै वेब संस्करणमा पनि सञ्चालनमा रहेको छ ।
एप सार्वजनिक कार्यक्रममा मन्त्री रावलले सूचना प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार गर्नु सरकारको प्राथमिकता रहेको बताइन् । उनले जग्गासम्बन्धी सेवा लिन कार्यालय धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको उल्लेख गर्दै ‘मेरोकित्ता’ एपले सेवा प्रवाहलाई थप सहज, छरितो, पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन् । मन्त्री रावलले डिजिटल सुशासनलाई सुदृढ बनाउन यस्ता प्रविधिमैत्री सेवाको दायरा आगामी दिनमा अझ विस्तार गरिने प्रतिबद्धता समेत व्यक्त गरिन् ।





















