बुटवल, १५ जेठ ।
राष्ट्रिय कुलिनरी विजेता टिमलाई रुपन्देहीमा सम्मान गरिएको छ । जेठ १ र २ गते झापाको दमकमा सम्पन्न दोस्रो राष्ट्रियस्तर खुला कुलिनरी च्यालेन्ज २०२६ को विजेता बुटवलको अरोमा हस्पिटालिटी टिमलाई शुक्रबार तिलोत्तमामा सम्मान गरिएको हो ।
कार्यक्रममा नेप्लिज सेफ सोसाईटीका अध्यक्ष तथा सिद्घार्थ हस्पिटालिटि ग्रुपका मास्टर सेफ एलबि कौशल, अरोमा हस्पिटालिटीका एकेडेमिक डाईरेक्टर रुपेश बश्याल, श्रेष्ठ मिटसपका संचालक लक्ष्मण श्रेष्ठले टिमका ६ जना सदस्यहरुलाई सम्मानपत्र र दोसल्लाबाट सम्मान गरे ।
नेप्लिज सेफ सोसाईटीका अध्यक्ष एलबि कौशलले अध्ययरत विद्यार्थीहरुको सीपकौशल परिक्षणका रुपमा प्रतियोगिता हुने गरेको बताए । युवा पुस्तामा यो क्षेत्र सबैभन्दा रुचाईएको भन्दै उनले नेपालकै लागि समेत राम्रो अवसरका रुपमा रहेको बताए ।
विजेता टिमले उपाधिसहित नगद १ लाख रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ । साथै, विजेता टिमलाई माल्टामा अवसर प्रदान गरिने आयोजकले जनाएको छ । उपविजेता भोजपुर टिमले नगद ७५ हजार रुपैयाँसहित दुबईमा अवसर पाएको छ भने तृतीय स्थान हासिल गरेको झापाको युनिभर्सल कलेज टिमले नगद ५० हजार रुपैयाँसहित भारतको होटल क्षेत्रमा अवसर पाउने भएको छ । आफुहरुले अर्को वर्ष रुपन्देहीमा नै फुड फेस्टिबल र सास्कृतिक कार्यक्रमसहितको प्रतियोगिता गर्ने सोच बनाएको उनले बताए ।
कार्यक्रममा अरोमा हस्पिटालिटीका एकेडेमिक डाईरेक्टर रुपेश बश्यालले हस्पिटालिटि क्षेत्रमा रुचि भएका विद्यार्थीहरु लक्षित गरि यो कोर्ष तयार गरेको बताए । कुलिनरी आर्ट ब्यवहार ज्ञान दिने गरि ६ महिनाको कोर्समा एक ब्याचमा ३५ जना विद्यार्थीहरु अध्ययन गर्ने उनले बताए । हाल अरोमामा १३ औ ब्याचका विद्यार्थीहरु अध्ययरत छन ।



















