Spread the love

धनुषा । धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाउँ विकास समितिका ३६५ परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि स्थानीय परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन् ।

नापी कार्यालय धनुषाले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । उक्त क्षेत्रको जग्गा नापजाँचको काम २०७२ सालमै सम्पन्न भएको थियो । तर नापजाँच तथा नक्साङ्कन सम्पन्न भए पनि आवश्यक प्रक्रिया पूरा हुन नसक्दा वर्षौंदेखि स्थानीयवासी लालपुर्जाबाट वञ्चित हुँदै आएका थिए । लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाइएपछि अहिले ३६५ थान जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।

जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएपछि स्थानीयवासीलाई जग्गाको कारोबार, स्वामित्व हस्तान्तरण तथा भूमिसम्बन्धी विवाद समाधानमा सहज हुने अपेक्षा गरिएको छ । साथै, जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिनसमेत सहज हुनेछ । यसअघि धनुषाका विभिन्न क्षेत्रमा गरी ३ हजार ६ सय १ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्