Spread the love

काठमाडौँ । तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा फरक स्वादको तीज गीत ‘दिक्क लाईसक्यो’ सार्वजनिक भएको छ । ‘बुलबुल’ र ‘भूठान’ चलचित्रका निर्माता अविरल थापाले गीतकारका रूपमा समेत आफ्नो परिचयलाई निरन्तरता दिँदै गीत बजारमा ल्याएका हुन् ।

‘मेरो हिरो बनाउँछन् फिलिम, कुन दिन घरखेत बनाउँछन् चिलिम’ भन्दै सुरु हुने गीतले व्यस्त श्रीमान्का कारण दिक्क भएका श्रीमतीहरूको गुनासोलाई हास्यव्यंग्य र मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको छ ।

गीतमा चलचित्र ‘लालीबजार’मा गीत गाएर चर्चामा आएकी गायिका दीपिका बयम्बु, पाश्र्व गायिका बेनिशा पौडेल र नवगायिका सुनिता विकको स्वर रहेको छ । गीतमा किरण भुसालको संगीत तथा अविरल थापाकै शब्द रहेको छ ।

गीतको भिडियो हाल छायांकन भइरहेको चलचित्र ‘जुबा’की लेखक वर्षा पौडेलले निर्देशन गरेकी हुन्। भिडियोमा नेपाली सांगीतिक क्षेत्रमा नौलो मानिएको एज रिभस्र्ड कास्टिङ शैली प्रयोग गरिएको निर्माण पक्षले जनाएको छ । यस शैलीमा वयस्क महिलाका भूमिकामा बालिकाहरूलाई प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा नेपा डान्स एकेडेमीका १६ जना बालिकाले नृत्य गरेका छन्। रोहिया महर्जनले कोरियोग्राफी गरेको भिडियोमा बालिकाहरूको प्रस्तुति मुख्य आकर्षणका रूपमा रहने बताइएको छ ।

गीतकार थापाले विभिन्न पेशामा आबद्ध श्रीमानका कारण श्रीमतीहरूले भोग्नुपर्ने दैनिकी र मनोदशालाई गीतमा ठट्यौली शैलीमा प्रस्तुत गरेका छन् । जग्गा कारोबार, डाक्टरी, पत्रकारिता, पसल व्यवसाय, वैदेशिक रोजगारी, शेयर कारोबार, फिल्म निर्माण, सरकारी जागिर तथा सेनामा कार्यरत श्रीमानका कथा गीतमा समेटिएका छन् ।

थापाले यसअघि चलचित्र ‘साँघुरो’का लागि समेत गीत लेखिसकेका छन् । उनको ‘ठक्कर’ बोलको गीत गत वर्ष कान्तिपुर म्युजिक अवार्डको उत्कृष्ट पाँचमा परेको थियो ।

चल्तीका तीज गीतभन्दा फरक विषय, हास्यव्यंग्य र समसामयिक सामाजिक कथालाई नाच्न मिल्ने शैलीमा प्रस्तुत गर्ने प्रयास गरिएको निर्माता तथा गीतकार थापाले बताएका छन्। गीतको भिडियो देवाश्री फिल्म्सको च्यानलमा उपलब्ध छ । थापा नयाँ चलचित्र निर्माणको तयारीमा समेत छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्