काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाउन सके मात्रै राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिने बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले ‘बालपनको रक्षा : भविष्यको सुरक्षा’ भन्ने राष्ट्रिय नाराले बालबालिका सर्वाङ्गीण विकासको आधारशिला भएको यथार्थलाई जोड दिएको बताएका हुन् ।
प्रधानमन्त्री शाहले तीनै तहका सरकारको प्रयासलाई एउटै परिणामसँग जोड्दै बालबालिकाको अधिकार व्यवहारमै सुनिश्चित गर्नुपर्ने बताएका छन् । अबको मुख्य प्राथमिकता संवैधानिक तथा कानुनी अधिकारलाई प्रत्येक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु रहेको प्रधानमन्त्री शाहले बताएका छन् । त्यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, सहकार्य र उत्तरदायित्व आवश्यक रहेको उनको भनाइ छ ।
उनले संघले राष्ट्रिय नीति, कानुनी तथा संस्थागत आधारलाई सुदृढ बनाउने, प्रदेशले समन्वय र सेवाको विस्तार गर्ने तथा स्थानीय तहले बालबालिकाको सबैभन्दा नजिकको सरकारका रूपमा जोखिम पहिचान, संरक्षण, सेवा प्रवाह र बालमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली बालबालिकामा सुख, सुस्वास्थ्य, सुरक्षित बालपन, उज्ज्वल भविष्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । साथै बालअधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनमा निरन्तर सक्रिय अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, विकास साझेदार, सञ्चार जगत् तथा सम्पूर्ण सरोकारवालाप्रति सम्मान व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले बालबालिकालाई वर्तमानमा सुरक्षित र अधिकारसम्पन्न बनाएर मात्रै राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिने भन्दै बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि गरिएको लगानी भएको उल्लेख गरेका छन् ।
नेपालले संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि (सीआरसी) सन् १९९० मा अनुमोदन गरी भेदभावरहितता, सर्वोत्तम हित, जीवन–बाँच्न र विकास पाउने अधिकार तथा विचारको सम्मानजस्ता आधारभूत सिद्धान्तप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको उनले स्मरण गरेका छन् । संविधानको धारा ३९ ले बालबालिकाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको तथा राष्ट्रिय बालबालिका नीति, २०८० र बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालअधिकारलाई थप सुदृढ गरेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।






















