काठमाडौं, २५ भदौ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । मन्त्री यादवले प्रधानमन्त्री बालेंद्र शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन् ।
बुधबार बसेको संसदीय समितिको बैठकमा ग्यास अभावको विषयमा उद्योगीहरूप्रति मन्त्री यादवले कडा टिप्पणी गरेकी थिइन् । उनले ग्यास अभाव उद्योगीका कारण भएको दाबी गर्दै उद्योगीप्रति आपत्तिजनक अभिव्यक्ति दिएको बताइएको छ ।
त्यस क्रममा मन्त्री यादवले नेपालमा सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने र देशका लागि दुईवटा मात्र ग्यास उद्योग भए पर्याप्त हुने धारणा राखेकी थिइन् ।
मन्त्रीको अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराएका थिए । त्यसपछि सरकार र ग्यास उद्योगीबीचको विवाद थप चर्किएको थियो ।
यसैबीच काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा खाना पकाउने ग्यासको अभाव देखिएको छ । उपभोक्ताहरू ग्यासका लागि लामो समय लाइन बस्नुपर्ने र बजारमा तोकिएको मूल्यभन्दा महँगोमा ग्यास खरिद गर्नुपर्ने अवस्था देखिएको छ ।
ग्यास आपूर्तिमा देखिएको समस्या समाधान गर्नुपर्ने समयमा उद्योगीप्रति मन्त्रीबाट आक्रामक अभिव्यक्ति आएको भन्दै उनको आलोचना भइरहेको थियो । सोहीबीच मन्त्री यादवले राजीनामा दिएको बताइएको छ ।
यसअघि पनि मन्त्री यादवले मन्त्रालयका कर्मचारीले आफूलाई असहयोग गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन् ।





















