बुटवल, १५ जेठ ।
नीजि तथा सामुदायिक विद्यालयका सवारीको दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ रुपन्देहीमा सचेतना अभियान थालिएको छ । बुटवल उपमहानगरपालिकाको सहयोग, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्था कार्यालय बुटवलको सहकार्यमा सुरक्षित यात्रा नेपालको अगुवाईमा रुपन्देहीमा अभियान थालिएको हो । यसैक्रममा शुक्रबार बुटवलका नीजि तथा सामुदायिक विद्यालयका सवारी चालक, सहचालकहरुलाई लक्षित गरि सुरक्षित, सहज र मर्यादित यात्रा एवंम सडक दुर्घटना न्यूनिकरणका लागि प्रशिक्षण एवं छलफल कार्यक्रम गरिएको हो ।
कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै निक्कै सार्दभिक कार्यक्रम गरिएको बताए । धेरैको ध्यान नगएको यो क्षेत्रमा अभियान थालेर संस्थाबाट महत्वपूर्ण योगदान दिन सफल भएको उनले बताए । पालिकाबाट हरेक क्षेत्रमा योजनाबद्ध विकासलाई जोड दिएको भन्दै शिक्षा र यससंग जोडिएको विषयमा आफु सहकार्य गर्दै अघि बढ्ने समेत बताए ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्था कार्यालय बुटवलका वरिष्ठ प्रहरी नायव निरिक्षक ज्ञानु पाण्डेयले नेपालमा वर्षेनी बालबालिकाहरु दुर्घटनामा पर्ने र मृत्यु हुने दर समेत बढ्दो रहेको बताए । यसलाई रोक्न पनि विद्यालयका चालकहरुलाई विशेष प्रशिक्षण जरुरी रहने उनले बताए । विश्व परिवेश र नेपालमा भैरहेको दुर्घटनाबारे प्रस्तुति दिदै उनले विश्वमा सडक दुर्घटनाकै कारण १३–१५ लाख जनाको मृत्यु हुने तथा नेपालमा दैनिक ६–९ जनाको मृत्यु हुने दरलाग्दो तथ्याक रहेको उनले बताए । विश्व स्वास्थ्य संगठनका अनुसार विकसित देशहरुमा दुर्घटनाको दर बढ्दो रहेको र यसलाई रोक्न बढीभन्दा सचेतना कार्यक्रम गर्नुपर्ने जोड दिईएको उनले बताए । दुर्घटना हुनुमा ७० प्रतिशत मानविय कारण तथा यान्त्रिक, सडक र वातावरणको कारण थप ३० प्रतिशत दुर्घटना हुने गरेको उनले बताए ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्था कार्यालय बुटवलका प्रहरी उपरीक्षक निशान थापा, कार्यक्रम संयोजक दिपक ढकालले सबैको सहकार्य हुन सकेमा यो अभियान सफल हुने बताए ।
कार्यक्रममा सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद बेल्बासेले यो अभियानमार्फत जिल्लाका हरेक पालिकासंग सहकार्य गरि कार्यक्रम गर्दैै जाने बताए । कार्यक्रममा ३६ बढी नीजि तथा सामुदायिक विद्यालयका २८० चालक, सहचालकहरु सहभागी भएका थिए ।




















