Spread the love

काठमाडौं । थाइल्यान्डबाट ल्याइएको तीन किलो गाँजासहित काठमाडौंमा तीन जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना म्यानमारका र दुई जना भारतीय नागरिक रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार हवाईमार्ग हुँदै नेपाल आउने यात्रुको प्रोफाइलिङ गर्ने क्रममा शंका लागेपछि म्यानमारकी २९ वर्षीया जिन जिन फ्यो माथि निगरानी गरिएको थियो ।

भदौ २८ गते ब्युरो शाखा कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१६, सोह्रखुट्टेस्थित एक होटलमा पुगेर उनको खोजतलास गरेको थियो। सो क्रममा उनको सुटकेसबाट तीन किलो थाइल्यान्डको गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

गाँजा लिन भारतको उत्तर प्रदेश, गोरखपुरबाट काठमाडौं आएका २० वर्षीय बरकतुल्लाह र २५ वर्षीय युसुफ खानलाई समेत प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार जिन जिन फ्यो सिंगापुरमा सिकर्मीको काम गर्दै आएकी थिइन् । उनी सिंगापुरबाट भियतनाम हुँदै भियतनामबाट एक म्यानमारका व्यक्तिले दिएको गाँजा लुकाइएको सुटकेस लिएर हङकङ हुँदै काठमाडौं आएको अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै, बरकतुल्लाह र युसुफ खान उक्त सुटकेस लिन गोरखपुरबाट काठमाडौं आएको र म्यानमारकी नागरिक बसेको होटलको कोठामा पुगेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको साथबाट तीन किलो गाँजा, तीन थान राहदानी र तीन थान मोबाइल फोन बरामद भएको छ । ब्युरोका अनुसार बरामद गाँजा भारत पुगेपछि अवैध बजारमा करिब भारतीय रुपैयाँ एक करोड २० लाख बराबर पर्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्