बुटवल, ५ जेठ ।
बुटवल कृषि उपज थोक बजार केन्द्रका सटर भाडाका लागि आह्वान गरिएको टेण्डर डेढ वर्षपछि कार्यान्वयन प्रक्रियामा प्रवेश गरेको छ । अदालतको फैसला र कृषि विभागको निर्देशनपछि पनि टेण्डर खोल्न ढिलाइ भइरहेका बेला कृषि विभागका महानिर्देशक प्रकाश कुमार सन्जेल नेतृत्वको टोली बुटवल आएर मंगलबारदेखि टेण्डर खोल्ने प्रक्रिया सुरु गरेको हो । कृषि विभागबाट महानिर्देशक सन्जेलसहित पाँच सदस्यीय टोली बुटवल आएको छ ।
बजार रहेको बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेको अध्यक्षतामा समिति गठन गरी प्रहरी प्रशासन, टेण्डरमा सहभागी व्यवसायी तथा सम्बन्धित पक्षको उपस्थितिमा टेण्डर खोल्ने काम सुरु गरिएको जनाइएको छ । महानिर्देशक सन्जेलले दुई–तीन दिनभित्र सम्पूर्ण प्रक्रिया सम्पन्न गरेर मात्रै काठमाडौं फर्किने बताएका छन् । उनका अनुसार टेण्डर प्रक्रिया पारदर्शी र कानुनी रूपमा टुंग्याइने बताए ।
कृषि बजार व्यवस्थापन समितिले २०८१ भदौ २४ गते ६८ वटा सटर भाडामा लगाउन बोलपत्र आह्वान गरेको थियो । उक्त सूचनाअनुसार ६८ वटा सटरका लागि २ सय ६७ वटा बोलपत्र दर्ता भए पनि हालसम्म टेण्डर खोलिएको थिएन ।
बजारमा १० वर्षका लागि बसेका व्यवसायीहरूको अवधि पाँच वर्षअघि नै सकिएको बताइएको छ । यद्यपि नयाँ प्रक्रिया अघि नबढ्दा पुरानै व्यवसायीहरूले सटर प्रयोग गर्दै आएका थिए ।
यस विषयमा अदालतले २०८२ कार्तिक २० गते अन्तिम फैसला गर्दै टेण्डर प्रक्रिया अविलम्ब अगाडि बढाउन निर्देशन दिएको थियो । अदालतको आदेशपछि पनि प्रक्रिया रोकिएपछि अन्ततः कृषि विभागको उच्चस्तरीय टोली नै बुटवल आएर प्रक्रिया अघि बढाएको हो ।




















