काठमाडौँ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सर्वोच्च नीति–निर्माण तह ७९ औँ विश्व स्वास्थ्य महासभामा नेपालले यस वर्ष ‘उपाध्यक्ष’ को महत्वपूर्ण जिम्मेवारी पाउने भएको छ । आगामी जेठ ३ देखि १० गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा नेपालले विश्व स्वास्थ्य कूटनीतिमा आफ्नो प्रभावशाली उपस्थिति जनाउने तयारी गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल भोलि जेनेभा प्रस्थान गर्दैछ। महासभामा नेपालका तर्फबाट स्वास्थ्य, जनस्वास्थ्य नीति, अन्तर्राष्ट्रिय सहकार्य तथा विश्व स्वास्थ्य प्रणालीसँग सम्बन्धित विषयमा नेतृत्वदायी प्रस्तुति रहने जनाइएको छ ।
यसपटक सरकारले वैदेशिक भ्रमणमा मितव्ययितालाई प्राथमिकता दिँदै सानो र छरितो प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ । विगतमा अन्तर्राष्ट्रिय कार्यक्रममा ठूलो सङ्ख्यामा प्रतिनिधिमण्डल सहभागी हुने प्रवृत्ति देखिँदै आएको अवस्थामा सरकारले खर्च कटौती र प्रभावकारी जनशक्ति परिचालनलाई प्राथमिकता दिएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार कुल ९ सदस्यीय प्रतिनिधिमण्डलमध्ये नेपालबाट मन्त्रीसहित तीन जना अधिकारी मात्र जेनेभा जानेछन् भने बाँकी ६ जना सदस्य जेनेभास्थित नेपालको स्थायी नियोगबाटै सहभागी हुनेछन् । यस व्यवस्थाले अनावश्यक भ्रमण भत्ता, हवाई टिकट तथा प्रशासनिक खर्च घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
नेपालबाट जाने टोलीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहता, मन्त्रालयका सहसचिव यशोदा अर्याल र डा. रोशन न्यौपाने रहेका छन् । यस्तै, जेनेभास्थित नेपालको स्थायी नियोगबाट राजदूत तथा स्थायी प्रतिनिधि राम प्रसाद सुवेदी, उप–स्थायी प्रतिनिधि डमरु बल्लभ पौडेल, काउन्सिलर सुवाङ्ग पराजुली, प्रथम सचिव श्रीकृष्ण सिलवाल र रोनल राई तथा द्वितीय सचिव सुजन लामिछाने महासभामा सहभागी हुनेछन् ।





















