बुटवल, २ जेठ ।
पाल्पाको तिनाउ गाउँपालिका–कचलकीकी सीता कुमारी बगालेको दैनिकी अहिले फेरिएको छ । पहिले घरायसी कामकाजमै सीमित रहने उनी आजभोलि व्यावसायिक तरकारी खेतीमा सक्रिय छिन् । गाउँपालिकाको कृषि तालिममा सहभागी भएपछि उनको दैनिकी मात्र होइन, पहिचान समेत बदलिएको छ ।
उनले केही वर्षअघि तालिमबाट ब्याड राख्ने, ड्याङ बनाउने, मल्चिङ गर्ने, टनेल व्यवस्थापन लगायतका सीप सिकेर व्यवसायिक कृषिमा लागेकी छन् । शुरुमा घरायसी प्रयोजनका लागि मात्र तरकारी उत्पादन गर्ने उनि अहिले भने व्यवसायीक रुपमा उत्पादन गरेकी छन् । सीताले करिब एक रोपनी जग्गामा काउली, बन्दा, टमाटर, सिमी लगायत सिजन अनुसारका तरकारी खेती गर्दै आएकी छिन् । उनले उत्पादन गरेका तरकारी स्थानीय बजारसँगै बुटवल बजारमा बिक्री हुने गरेको छ । उनको सफलतामा परिवारको साथ पनि उत्तिकै महत्वपूर्ण रहेको छ ।
बालीमा लाग्ने किरा, कृषि सेवा लिन टाढा जानु पर्ने र कृषि प्राविधिक तालिम, सहयोग नपाउदा व्यवसायीक रुपमा अघि बढन समस्या भएको उनको गुनासो छ । गोबरमल प्रयोग गरिरहेकी उनी पछिल्लोसमय नया किसिमका किराको कारण उत्पादनमा क्षति ब्यहोरिरहेको गरेको बताईन । आफ्नै मेहनत र दृढ इच्छाशक्तिले उनलाई सफलताको बाटोतर्फ अघि बढाएको छ । कृषिमा सक्रिय सीता अहिले गाउँका अन्य महिलाका लागि समेत प्रेरणाको स्रोत बनेकी छिन् ।
भिडियो रिर्पोट





















