बुटवल, ३० वैशाख ।
सरकारको डोजर आतंक बिरुद्ध देशभरका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले वृहत प्रदर्शन र आन्दोलन गर्ने भएका छन । काठमाडौंसहित देशका विभिन्न ठाउँमा सरकारले परिपत्र गरेर सुकुम्बासी बस्ती खाली गर्न थालेपछि देशभरका सुकुम्बासीहरु एक ढिक्का भएर आन्दोलन गर्ने भएका हुन् ।
नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित संघर्ष समिति रुपन्देहीले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि जेष्ठ ३ गते हुने विरोध प्रदर्शन तथा राष्ट्रिय सम्मेलनको बारेमा जानकारी दिए । संघर्ष समितिका संयाजक खगेन्द्र पौडेलले गरिबी हटाउन नभई गरिबलाई हटाउने गरि सरकारबाट कदम चालिएको आरोप लगाउदै यसका बिरुद्ध आफुहरु संघर्षमा उत्रन बाध्य भएको बताए । राजमार्ग चौराहबाट शुरु गरिने बिरोध प्रर्दशनमा देशभरका २२ जिल्लाबाट करीब ३० हजार बढीको उपस्थिती रहने उनले दाबी गरे ।
ट्राफिक चोकमा पुगेर कोणसभा र जेठ ४ गते राष्ट्रिय सम्मेलन गरिने भएको छ । सम्मेलनबाट देशव्यापी रुपमा गरिने आन्दोलनको प्रारुप तयार गरिने भएको छ । राष्ट्रिय सम्मेलनका लागि विभिन्न उपसमितिहरु गठन गरी तयारी अन्तिम चरणमा पुगेको संघर्ष समितिले जनाएको छ ।
विघठित भूमि आयोगका अनुसार रुपन्देहीमा ७९ हजार बढी घर परिवारले भूमिहिन सकुम्बासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोबासीका रुपमा नाम दर्ता गराएका थिए । यसैगरी ५२ हजार घर परिवारको जग्गा नापजाँच सम्पन्न भएको छ । वर्तमान सरकारले आयोग नै खारेज गरेपछि लालपूर्जा वितरणको काम रोकिएको थियो ।
भिडियो रिर्पोट






















