काठमाडौं, २७ असोज ।
देशका तराई भू–भागमा आज मौसम मुख्यतया सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।
महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भाग र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ । देशका अन्य हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने तथा अन्य हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा तथा देशका बाँकी हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, आज राति देशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । रातिको समयमा कर्णाली प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।





















