बुटवल, २७ वैशाख ।
दूध तथा दुग्ध पदार्थ सम्बन्धी सरकारी नीति, निर्देशन र कार्यविधिलाई कार्यान्वयन गर्ने नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशले निर्णय गरेको छ । बजारमा स्वस्थ, स्वच्छ तथा मापदण्ड पुगेका दुग्धजन्य पदार्थ मात्रै बिक्री वितरण सुनिश्चित गर्न यस्तो निर्णय गरिएको हो ।
एसोसिएसनको आईतबार बसेको नियमित बैठक तथा वार्षिक टेबल क्यालेन्डर सार्वजनिक कार्यक्रममा अध्यक्ष थानेश्वर न्यौपानेले उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन र बजारलाई व्यवस्थित बनाउन आफूहरू सक्रिय रहेको बताए । उनका अनुसार दूधको उत्पादन लागतका आधारमा उचित मूल्य निर्धारण गर्ने, प्रदेशभर दुग्ध पदार्थको मूल्यमा हुने उतारचढाव रोक्दै एकरुपता कायम गर्ने तथा गुणस्तरमा कुनै सम्झौता नगरी स्वच्छ दुग्ध उत्पादन बजारमा पु¥याउने निर्णय गरिएको छ । बजारमा स्वच्छ र गुणस्तरीय दुग्ध पदार्थ उपलब्ध गराउन सरकारी मापदण्डलाई कडाइका साथ पालना गर्ने अध्यक्ष न्यौपानेले बताए ।
कार्यक्रममा अग्रज दुग्ध व्यवसायी दयाराम भण्डारी, एसोसिएसनका केन्द्रीय कोषाध्यक्ष शिव भुसाल, सचिव विजय साकोटाले लागत मूल्यका आधारमा दुधको मूल्यमा एकरुपता ल्याउँदा किसान र उपभोक्ता दुवैलाई न्याय मिल्ने बताए ।




















