भैरहवा, २७ बैशाख ।
भैरहवामा जारी पंचकन्या रुपन्देही सुपरलिग अन्तर्गत ‘ए’ डिभिजन क्रिकेट प्रतियोगितामा तिरुपति क्रिकेट क्लब विजयी भएको छ । आइतबारको खेलमा तिरुपति क्रिकेट क्लबले देवदह क्रिकेट युनिटलाई ४ विकेटले पराजित गरेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको देवदहले २८.१ ओभरमा १ सय १२ रनमा समेटियो । उसका लागि सुदीप अर्यालले ४०, सुमन पाण्डेले २०, सुरज खड्काले १२ र सोयम चापागाईंले ११ रन बनाए । कम स्कोरमा रोक्न तिरुपतिका दिवान पुनले ३, आकाश त्रिपाठी र तुलबहादुर थापाले २–२ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको तिरुपतिले १७.५ ओभरमा ६ विकेटको नोक्सानीमा लक्ष्य भेटायो । उसको जितमा आकाश त्रिपाठीले ५० रनको अर्धशतकीय पारी खेल्दा रौनक श्रीवास्तवले अविजित २० र तुलबहादुर थापाले १४ रन जोडे । देवदहका सुरज खड्काले ३ विकेट लिए । खेलमा अकाश त्रिपाठी प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।




















