भैरहवा, २६ बैशाख ।
बैतुल्लाह खानले कीर्तिमानी ९ विकेट लिदै आफनो टिम लुम्बिनी खुकुरी क्लबलाई पंचकन्या रुपन्देही सुपरलिग अन्तर्गत ‘ए’ डिभिजनमा शानदार जित निकालेका छन । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी प्रतियोगिताको शनिबार भएको खेलमा लुम्बिनी खुकुरी क्लबले बुटवल राइनोजमाथि ९ विकेटको जित निकालेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निम्तो पाएको बुटवल राइनोजले २२ ओभरमा केवल ७२ रनमा समेटियो । बुटवल राइनोजका उत्तम थापा मगरले १७ र सुशान्त शाक्यले १० रनबाहेक अन्या खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन । कम स्कोररमा रोक्न लुम्बिनी खुकुरीका बैतुल्लाह खानले ९ ओभर बलिङ गर्दै २ मेडनसहित ३४ रन खर्चेर महत्वपूर्ण ९ विकेट लिए । उनी खेलमा प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।
लुम्बिनी खुकुरीले ९.४ ओभरमा केवल १ विकेटको नोक्सानीमा लक्ष्य भेटायो । खुकुरीका समीर अली मुसलमानले शानदार अर्धशतकीय पारी खेले । उनले ६ चौका र २ छक्काको मद्दतमा अविजित ५७ रनको योगदान दिए । अजय चौहानले नटआउट १७ रन बनाए । बुटवल राइनोजका सुमित थापाले १ विकेट लिए ।
प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँबाट पुरस्कृत गरिने खेल संयोजक प्रथम पराजुलीले बताए ।





















