बुटवल, २५ वैशाख ।
बुटवलमा आँखा उपचारमा विशिष्टिकृत सेवा दिदै आएको बुटवल लायन्स आँखा अस्पतालको दीर्घकालिन ब्यवस्थापन र स्तरोन्नती जरुरी रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । शुक्रबार बुटवल लायन्स आँखा अस्पताल जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा सहभागीहरुले अस्पतालको सेवालाई चुस्तदुरुष्ट बनाउदै उपयुक्त स्थानमा स्थानान्तरण गरी व्यवस्थित पूर्वाधारसहित सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले आँखा अस्पताललाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाईन । अस्पतालमा चिकित्सक अभाव र प्राविधिक मेशिनहरु कमी रहेको बुझेको भन्दै यसका लागि आगामी बजेटमार्फत समेत सहयोग गर्ने बताईन । उनले आँखा अस्पताललाई सबै स्थानीय तहको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन् । अस्पतालले हजारौं नागरिकलाई दृष्टि दिने काम गरेको भन्दै यसको सेवा अझ विस्तार गर्न आवश्यक रहेको बताइन् ।
त्यसैगरी कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले आँखा स्वास्थ्य सेवा मानव जीवनसँग प्रत्यक्ष जोडिएको भन्दै यसलाई सबै स्थानीय तहबाट अपनत्व जरुरी रहे बताए । बुटवल लायन्स आँखा अस्पतालले लामो समयदेखि नागरिकलाई दृष्टि दिने काम गर्दै आएको उल्लेख गर्दै अस्पतालको सेवा विस्तार र पूर्वाधार विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको उनको धारणा छ ।
कार्यक्रममा नेत्ररोग विशेषज्ञ तथा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विवेक उपाध्यायले अस्पतालको विगत, वर्तमान सेवा अवस्था तथा आगामी योजनाबारे जानकारी गराए । उनले नेपाल नेत्र ज्योति संघ अन्तर्गत रहेको बुटवल आँखा अस्पताल २०३५ सालमा स्थापना भएको र २०५३ सालदेखि लायन्स आँखा अस्पतालका रूपमा नियमित आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए ।
उनका अनुसार अस्पतालले गत आर्थिक वर्षमा मात्रै ५३ हजार ६०५ जनालाई सेवा दिएको छ । मोतियाबिन्दु लगायत विभिन्न आँखासम्बन्धी रोगको उपचार तथा शल्यक्रिया सेवा नियमित रूपमा सञ्चालन भइरहेको उनले बताए । विद्यालय केन्द्रित आँखा परीक्षण कार्यक्रम अन्तर्गत करिब ७० हजार विद्यार्थीको आँखा परीक्षण गरिएको जानकारी पनि उनले दिए । अस्पतालले विभिन्न स्थानीय तहसँग सहकार्य गरेर समुदायस्तरमा आँखा स्वास्थ्य सेवा विस्तार गरिरहेको समेत उनले जानकारी दिए । सिटी क्लिनिकमार्फत समेत सेवा प्रवाह भइरहेको बताउँदै आगामी दिनमा सेवा विस्तार, पूर्वाधार विकास र आधुनिक उपकरण व्यवस्थापनमा जोड दिइने बताए ।
कार्यक्रममा शुद्वोदन गाउँपालिका अध्यक्ष विष्णु प्रसाद बस्याल, देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कासिनाथ बन्जाडे, अस्पताल व्यवस्थापन समितिका सदस्य अर्जुनमान सैजु, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक ज्ञवाली, मनोज श्रेष्ठले अस्पतालको सेवा विस्तार र पूर्वाधार विकासमा सहकार्य आवश्यक रहेको भन्दै समुदायस्तरमा आँखा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखे ।





















