काठमाडौँ,२५बैशाख । विश्वविद्यालयमा रिक्त उपकुलपतिको नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको हो ।
इच्छुक तथा योग्य व्यक्तिले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा दिइएको लिङ्कमा गई दरखास्त दिन सकिने बताइएको छ ।
उपकुलपति सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिबाट बैशाख २४ गते स्वीकृत विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम दरखास्त आह्वान गरिएको समितिले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त माग भएको हो ।





















