रुपन्देही, २४ वैशाख।
रुपन्देहीको सैनामैना नगरपालिका–११ बनकट्टीबाट प्रहरीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले बिहान करिब ९ बजे बुटवलबाट दाङतर्फ जाँदै गरेको लु १ ज ४९३६ नम्बरको ईभी गाडीमा चेकजाँच गर्ने क्रममा दाङ घोराही उपमहानगरपालिका–१४ निवासी २८ वर्षीय रबिन बुढालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गाडी चालकको पछाडिको सिटमा सवार बुढामाथि शंका लागेपछि खानतलासी गर्दा उनले बोकेको कालो झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा लागू औषधजस्तो देखिने सेरेज्याक २ एमएलका ९० एम्पुल, फेनेरगेन २ एमएलका ९० एम्पुल, आईपिपिएल ईन्जेक्सन २ एमएलका ९० एम्पुल तथा डाईपोजाम २ एमएलका ९० एम्पुल बरामद गरिएको हो ।
उनको साथबाट एउटा आईफोन–१२ मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बुढामाथि लागू औषध सम्बन्धी कसुरमा रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भैरहवाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले बताए ।




















