दाङ, २९ चैत । दाङमा सम्पन्न दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधी रुपन्देहीले हात पारेको छ ।
शनिबार भएको फाईनलमा पाल्पालाइ ३–० को सोझो सेटमा पराजित गर्दै रुपन्देहीले मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको हो ।
उपाधीसंगै रुपन्देही नगद १ लाख, ट्रफि र मेडल हात पारेको छ भने उपविजेता पाल्पा भने नगद ६५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्रमा चित्त बुझायो ।एकतर्फी खेलमा रुपन्देहीले पाल्पालाई पहिलो सेटमा २५–१७, दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा ३०–२८ पराजित गरेको हो ।
लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सहभागी प्रतियोगितामा रुकुम पूर्व तेस्रो र बर्दिया चौथो स्थानमा हासिल गरेको छ । रुकुमले बर्दियालाई ३–१ को सेटमा हराउदै रुकुम पूर्व तेस्रो स्थान हात पारेको हो ।
पहिलो सेट हारेको रुकुम पूर्वले त्यसपछि लगातार तीन सेट जित्दै तेस्रो स्थान बनाउन सफल भएको हो । तेस्रो भएको रुकुम पूर्वले नगद ३५ हजार र सान्त्वना भएको बर्दियाले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ ।






















