Spread the love

बुटवल, ७ माघ ।
लुम्बिनी प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने अवस्थामा पुगेको छ । स्वास्थ्य बीमा बोर्डबाट लामो समयदेखि दाबी भुक्तानी नआएपछि अस्पताल आर्थिक संकटमा परेको हो ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार बीमा बोर्डबाट स्वीकृत २४ करोड ७१ लाख रुपैयाँ भुक्तानी नपाउँदा औषधि तथा उपकरण खरिदमा समस्या हुनुका साथै कर्मचारीलाई सेवा–सुविधा दिन समेत कठिनाइ उत्पन्न भएको छ । दैनिक करिब १ हजार ५ सय सेवाग्राहीले बीमा सेवामार्फत उपचार लिँदै आएको अस्पतालमा दाबी रकम नआउँदा बीमा कार्यक्रम नै स्थगित गर्नुपर्ने बाध्यता आएको उनले बताए ।

अस्पतालले विभिन्न वर्षमा गरी ७३ करोड ४२ लाख रुपैयाँ दाबी गरेकामा बीमा बोर्डले ५० करोड ५४ लाख मात्रै स्वीकृत गरेको छ । त्यसमध्ये हालसम्म २५ करोड ८३ लाख रुपैयाँ मात्र प्राप्त भएको अस्पतालको भनाइ छ । स्वास्थ्य बीमा कार्यक्रम विभागका प्रमुख दिपेन्द्र पौडेलले सेवाग्राही बढ्दै गए पनि सरकारी अनुदान समयमा नआउँदा सेवा प्रभावित हुने अवस्था आएको बताए । उनले बीमा बोर्डले दाबी रकममा मनपरी कटौती गर्ने गरेको गुनासो गरे ।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बोर्डबाट स्वीकृत रकम समेत नआउनु दुःखद भएको बताउँदै जनस्वास्थ्यसँग जोडिएको विषयमा सरकार र बीमा बोर्ड गम्भीर हुनुपर्ने बताए ।

सरकारले समयमै दाबी भुक्तानी नगर्दा यसअघि त्रिवि शिक्षण अस्पताल र शहीद गंगालाल हृदय रोग केन्द्रमा समेत स्वास्थ्य बीमा सेवा बन्द भएको छ । सेवा प्रदायक अस्पतालहरूले बीमा बोर्डको क्षमता र दाबी भेरिफिकेसन प्रक्रियामाथि प्रश्न उठाउँदै रियल–टाइम भेरिफिकेसन र निश्चित समयसीमा तोकेर भुक्तानी हुनुपर्ने माग गरेका छन् । स्वास्थ्य बीमा सेवा बन्द हुँदै गएमा विपन्न नागरिक सबैभन्दा बढी प्रभावित हुने देखिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्