बुटवल, २६ असोज ।
विद्यालय शिक्षा विधेयक संशोधनका लागि शिक्षा क्षेत्रका सरोकारवालासँग सुझाव संकलन गर्ने उद्देश्यले रुपन्देहीमा ‘शिक्षा संवाद–भाग २’ सम्पन्न भएको छ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई समयानुकूल बनाउन निजी विद्यालयका सञ्चालक, शिक्षाविद् तथा शिक्षा क्षेत्रका प्रतिनिधिहरूले बुटवलमा छलफल गरेका हुन् । प्याब्सन, एनप्याब्सन, एपेन, हिसान, एनएमए र सिएसएमसिएफएनको आयोजनामा तथा नेपाल सरकारको शिक्षा तथा खेलकुदसम्बन्धी निकायको सहकार्यमा सोमबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा र राजनीतिक सल्लाहकार सरोज गौतमसँग विद्यालय शिक्षा विधेयकका विभिन्न प्रावधानबारे छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले लामो समयपछि संशोधनको प्रक्रियामा रहेको शिक्षा ऐनले वर्तमान शैक्षिक आवश्यकता, प्रविधिको विकास, सीपमूलक शिक्षा र विद्यालय सञ्चालनका व्यावहारिक पक्षलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए । “नाफा हुन जरुरी छ, तर ठगी हुनु हुँदैन,” भन्ने धारणासंगै शिक्षा क्षेत्रमा लगानी र सेवाको प्रकृतिलाई स्पष्ट रूपमा परिभाषित गर्नुपर्नेमा उनिहरुले जोड दिए । लामो समयपछि बन्न लागेको शिक्षा कानुनले सीप, संस्कार र प्रविधियुक्त शिक्षाको विकासलाई प्राथमिकता दिनुपर्ने उनीको भनाइ थियो ।
शिक्षा तथा खेलकुदमन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले सुझाव संकलनमा सरोकारवालाको भुमिका महत्वपूर्ण हुने बताए । विगतमा समयमा सरोकारवालाहरुको प्रश्नबाट पन्छिन खोजेको अवस्था रहेको भन्दै सकेसम्म आफुहरु यस विषयमा गम्भिर भएर लागेको उनले बताए । उनले शिक्षा सामाजिक विकाससँग जोडिएको क्षेत्र भएकाले यसमा हुने नाफा र ठगीबीच स्पष्ट भिन्नता छुट्याउन आवश्यक रहेको बताए । शिक्षाको सामान्य विषयदेखी लिएर समग्र पाठ्यक्रमसम्मका विषयहरुलाई जोडेर कार्यदलमार्फत ३ तहमार्फत काम भैरहेको उनले बताए ।
छलफलमा प्याब्सनका अध्यक्ष सुभाष न्यौपाने, केन्द्रीय महासचिव आरपी कटुवाल, प्रदेश अध्यक्ष लालहरि पाण्डेलगायत शिक्षा क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए । त्यस्तै, शिक्षा क्षेत्रका विज्ञ सहप्राध्यापक दिनेशमणि घिमिरेसहित विभिन्न सरोकारवालाले विद्यालय शिक्षा विधेयकका प्रावधान र त्यसले पार्ने प्रभावबारे विचार राख्दै विद्यालय शिक्षाको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई मात्रै दिन उपयुक्त नहुने बताए ।
कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षकको पेसागत मर्यादा र सम्मान, व्यक्तिगत क्षमता विकास तथा विद्यालय शिक्षालाई व्यावहारिक र समयसापेक्ष बनाउने विषयमा समेत छलफल भएको थियो ।
एनप्याब्सनका जिल्ला अध्यक्ष बाबुराम बन्जाडेले शिक्षकको गरिमा र सम्मान कायम राख्दै उनीहरूको व्यक्तिगत तथा पेसागत क्षमता विकासमा ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रमको समापनका क्रममा प्याब्सनका उपाध्यक्ष टीकाराम न्यौपानेले शिक्षा ऐन संशोधनका क्रममा विद्यालय सञ्चालक, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाका सुझावलाई समेट्नुपर्ने धारणा राखेका थिए । शिक्षा संवादमार्फत सुझाव संकलन अभियान अन्तरगत उपत्यका बाहिर यो ११ औ कार्यक्रम सम्पन्न भएको छ ।




















