Spread the love

भैरहवा। क्षेत्री समाज नेपाल, सिद्धार्थनगर भैरहवाले घटस्थापनाको अवसरमा ¥याली तथा अन्तरक्रिया कार्यक्रम गरी क्षेत्री दिवस मनाएको छ। समाजले क्षेत्री समुदायको ऐतिहासिक पहिचान, मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको संरक्षण गर्ने उद्देश्यले दिवस मनाएको हो।

क्षेत्री समाज सिद्धार्थनगरको आयोजनामा भैरहवास्थित लुम्बिनी रोडबाट सुरु भएको ¥याली बरमेलिटोल र नारायणस्थान हुँदै बैंक कलोनीस्थित दुर्गा मन्दिरमा पुगेर समापन भएको थियो। ¥यालीपछि मन्दिरमा पूजापाठ तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो।

क्षेत्री समाजका अगुवा शेरजंगबहादुर बस्नेतले घटस्थापनालाई स्थापना दिवसका रूपमा मनाउनुको उद्देश्य दसैँको सुरुवातसँगै क्षेत्री समुदायको ऐतिहासिक पहिचान, संस्कृति र सामाजिक एकतालाई उत्सवका रूपमा स्थापित गर्नु रहेको बताए।

क्षेत्री समाज सिद्धार्थनगरका अध्यक्ष राजेन्द्र थापाले भैरहवा नगरमा छरिएर रहेका क्षेत्री समुदायका सदस्यलाई एकीकृत गर्दै परम्परागत पोसाकसहित नगर परिक्रमा, पूजापाठ र अन्तरक्रियामार्फत दिवस मनाइएको जानकारी दिए।

¥यालीमा पुरुषहरू दौरा–सुरुवाल, कोट, पटुका र ढाकाटोपीमा सजिएका थिए भने महिलाहरू गुन्यू–चोली तथा तिलहरी, नौगेडी र पोतेलगायत परम्परागत गरगहनामा सजिएका थिए। सहभागीले एक हातमा राष्ट्रिय झन्डा र अर्को हातमा क्षेत्री समाजको झन्डा बोकेका थिए। परम्परागत पोसाकमा सजिएका सहभागीको ¥यालीले स्थानीयको ध्यान आकर्षित गरेको थियो।

समाजका पूर्वअध्यक्ष मिलन बस्नेतले नेपालको आधुनिक इतिहास, राजनीतिक परिवर्तन तथा सामाजिक आन्दोलनमा क्षेत्री समुदायले योगदान दिएको उल्लेख गर्दै समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि दिवस मनाइएको बताए।

क्षेत्री समुदायको इतिहास र संस्कृति नेपालको सामाजिक तथा सांस्कृतिक विविधतासँग जोडिएको छ। थापा, बस्नेत, पाण्डे, कुँवर, खड्का, कार्की, भण्डारी र अधिकारीलगायत विभिन्न थर यस समुदायमा प्रचलित छन्।

राष्ट्रिय जनगणना २०७८ अनुसार क्षेत्री नेपालमा सबैभन्दा बढी जनसङ्ख्या भएको जाति हो। जनगणनाअनुसार कुल जनसङ्ख्याको १६.४५ प्रतिशत क्षेत्री समुदायको हिस्सा रहेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्