Spread the love

बुटवल ।
चाडपर्व नजिकिएसंगै बुटवलमा बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । समुदाय–प्रहरी साझेदारी अन्तरगत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवल, इलाका प्रहरी कार्यालयले पश्चिम नेपाल बस ब्यवसायी प्रालि, बुटवल यातायात प्रालि, सिद्धार्थ, श्रीनगर, गुल्मी जिप तथा देउराली यातायातको सहकार्यमा बसपार्कमा कक्ष संंचालनमा ल्याएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक निशान थापाले नेपाल प्रहरी र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यका साथ नागरिक सहायता कक्षसम्बन्धी कार्यक्रम अघि बढाइएको बताए । कार्यक्रममार्फत शान्तिपूर्ण र सुरक्षित समाज निर्माण, नागरिकलाई आवश्यक सहयोग तथा ट्राफिक नियमबारे सचेतना अभिवृद्धिमा जोड दिइने उनले बताए । ट्राफिक सचेतनाका लागि अधिकतम गति सीमा, अनावश्यक हर्न निषेध, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न तथा मादक पदार्थ सेवन गरी सवारी नचलाउन सदेशसंगै यात्रुहरुको सहजताका लागि आवश्यक परामर्श दिइने उनले बताए ।

कार्यक्रममा पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले बसपार्कलाई केवल भाषणमा मात्र विकास भएको दुखेसो गरे । ‘उज्यालो बसपार्क, सफा बसपार्कको भाषणमा त गर्यौ तर अपेक्षा अनुसारको सुधार गर्न सकिएन ।’– उनले भने । बसपार्कभित्र ठग्ने प्रवृति रोक्ने गरि संंस्थाबाट आवश्यक परिचय खुल्ने कर्मचारीहरु र काउन्टरबाटमात्र टिकट लिने ब्यवस्था आफुहरुले गरेको दाबी गरे । सिट क्षमताभन्दा यात्रु नराख्नेतर्फ विशेष कडाई जरुरी रहेको भन्दै उनले प्रहरी प्रशासनबाट समेत कार्यसम्पादन गर्दा विशेष जिम्मेवारीलाई बुझेर कारवाही बढाउ आग्रह गरे । समुदाय–प्रहरी साझेदारी कार्यक्रमले नागरिक र प्रहरीबीच समन्वय बढाउने, सडक सुरक्षाबारे जनचेतना फैलाउने तथा नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने अपेक्षा सहित कार्तिक ३ गतेसम्म कक्ष राखिने छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्