दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा विस्तार, पूर्वाधार विकास तथा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विषयमा सरोकारवालाले जोड दिएका छन् । प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्य, सांसद कमल सुवेदी, स्वास्थ्य सचिव डा. विकास देवकोटा, मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधान, प्रतिष्ठानका उपकुलपति डा. अजयकुमार मिश्र र रजिस्ट्रार श्याम लम्साललगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रतिष्ठानको सेवा विस्तार, भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य सेवालाई गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउने विषयमा छलफल भएको थियो । सो अवसरमा मन्त्री मेहताले प्रतिष्ठानको विकास र सेवा सुधारका लागि स्वास्थ्य मन्त्रालयका तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नागरिकलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठानको क्षमता अभिवृद्धि आवश्यक रहेको धारणा राखे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले यस क्षेत्रको स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यसको विकास र स्वास्थ्य सेवा सुधारमा जोड दिए । त्यसैगरी, सांसद कमल सुवेदीले प्रतिष्ठानको समग्र विकासका लागि स्वास्थ्य सेवाको गुणस्तर सुधारसँगै प्रशासनिक सुधार पनि आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रतिष्ठानको संस्थागत क्षमता अभिवृद्धि, सेवा विस्तार र पूर्वाधार विकासमार्फत दाङसहित आसपासका जिल्लाका नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा छलफल भएको थियो ।






















