Spread the love

काठमाडौं । अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक युवकबाट ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असोज १२ गते दिउँसो करिब १ बजे काठमाडौं महानगरपालिका–११ भद्रकालीस्थित सडकखण्डमा शङ्कास्पद अवस्थामा हिँडिरहेका सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ का २२ वर्षीय विक्की कुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरी टोलीले सोधपुछ तथा जाँच गर्ने क्रममा महतोले विभिन्न अनलाइन माध्यमबाट सट्टेबाजी तथा जुवा खेल्ने गरेको पाइएको जनाएको छ । उनले ‘वान एक्स बेट’ र ‘मोबक्यास’ नामक अनुप्रयोगमार्फत अनलाइन सट्टेबाजी गर्ने गरेको प्रहरीको भनाइ छ । त्यसैगरी, उनले अमेरिकी डलरसँग मूल्य जोडिएको डिजिटल मुद्रा युएसडीटी लगायतका क्रिप्टोकरेन्सीको कारोबारसमेत गरेको खुलेको छ ।

प्रहरीका अनुसार महतोले हालसम्म ३ करोड ३८ लाख ८ हजार ३५० रुपैयाँ ९१ पैसाभन्दा बढीको कारोबार गरेको विवरण फेला परेको छ । अनलाइन जुवा तथा क्रिप्टोकरेन्सी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले उनलाई नियन्त्रणमा राखेको छ । घटनाको थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्