बुटवल,२१ असोज ।
रोटरी क्लब अफ बुटवलले आयोजना गरेको विद्यालयस्तरीय पिस पोस्टर चित्रकला प्रतियोगितामा पामिर इन्टरनेशनल स्कुल, शंकरनगरका राजन थापा प्रथम भएका छन् । बुटवल, सुख्खानगरस्थित दीप बोर्डिङ हाई स्कुलमा मंगलबार सम्पन्न प्रतियोगितामा दीप बोर्डिङ हाई स्कुलकी प्रशान्ती पुन द्वितीय, स्कलर्स होम स्कुलकी अप्सरा हाउजु तृतीय र बुद्ध पब्लिक स्कुल, देवदहकी अन्सी खत्रीले सान्त्वना स्थान हासिल गरे ।
एक कार्यक्रमका बिच पिजिडि राजेन्द्रप्रसाद ध्वजु, एजी ओम जैसी, प्याब्सन उपाध्यक्ष टीकाराम न्यौपाने, रोटरी क्लब अफ बुटवलका अध्यक्ष यदुनाथ पाण्डेले विजेता, उपविजेताहरुलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा विद्यार्थीहरूले शान्ति, सद्भाव, मानवता र सकारात्मक सोचलाई चित्रमार्फत प्रस्तुत गरेको क्लबका अध्यक्ष यदुनाथ पाण्डेले बताए । कार्यक्रममा विभिन्न इन्टरयाक्ट क्लबका प्रतिनिधि, रोटरियन, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।






















