काठमाडौं । देशका अधिकांश भूभागमा आज मौसम बदली रहने तथा विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव छ। कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग तथा गण्डकी र लुम्बिनीका बाँकी भूभागमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा सामान्यतया बदली छ। लुम्बिनीका थोरै स्थान तथा कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै कोशी र कर्णालीका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कर्णालीका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।
देशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। पहाडी भूभागका एक–दुई स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।





















