बुटवल, २० असोज ।
नेपालमा क्रिकेटको क्रेज बढ्दै जाँदा नेपाल प्रिमियर लिग (एनपीएल) का दुई सिजन सफलतापूर्वक सम्पन्न भइसकेका छन् । एनपीएलमा खेलाडी छनोटका लागि अक्सनसँगै स्थानीय तथा युवा खेलाडीलाई अवसर दिने महत्वपूर्ण माध्यमका रूपमा ट्यालेन्ट हन्ट पनि प्रयोग हुँदै आएको छ । प्रायजसो एनपीएलका टिमले टयालेन्ट हन्ट संचालन गर्ने गर्दछन । जहा युवा खेलाडीहरुको ब्याटिङ, बलिङ हेर्ने र यसकै आधारमा खेलाडी छनौट गरिदै आएको छ ।
लुम्बिनी लायन्सले पनि गत दुई सिजन यही प्रक्रियामा खेलाडी छनौट गर्दै आएको थियो । प्रदेशका विभिन्न जिल्लाबाट २ दिन टयालेन्ट हन्ट कार्यक्रम हुने गरेको लायन्सका कन्सल्टेन्ट कोच शक्ति गौचनले बताए । ‘यस्तै चलेको थियो ।’–उनले भने । गतवर्ष उपाधि चुमेको लायन्सले यसपटक भने फरक सोचका साथ ‘रेट पल्टन कप प्रतियोगिता’ आयोजना गरेको छ । ‘हाम्रो टिमले यसपटक फरक गर्ने सोच बनायौ ।’– उनले भने । मैदानमा नै जुनियर लेभलको खेलाडीहरुलाई प्रतियोगितामार्फत छनौट गर्दा प्रभावकारी हुने देखिएपछि १२ जिल्लाका ८ टिम तयार गरेर नकआउट प्रतियोगिता गरेको उनले बताए । ‘हाम्रो टिमको योजना अनुसार नै यो अघि बढेको छ ।’– उनले थपे ।
टयालेन्ट हन्टलाई म्याचमार्फत सेलेक्ट गरेर लुम्बिनी लायन्सलाई आइकोनिक प्लेयर पाउने हिसाबबाट यो प्रतियोगिता गरिएको उनले बताए । ‘एउटा एक्सपोजर पनि हुन्छ र एउटा टुर्नामेन्ट पनि जुनियर लेभलको खेल्न पाउने हुन्छ ।’– उनले भने । एनपीएलमा फ्रेन्चाइची टिमले पहिलो पटक यस्तो च्याम्पियनसीप गरेको हो ।
आफनै होम ग्राउण्डमा गरिएको प्रतियोगितामा ७ जिल्लालाई सिधै क्वालिफयर गराएको थियो । बाकी पाच जिल्लाहरुबाट टयालेन्ट हन्टमार्फत खेलाडी छनौट गरि पहाडी सेनाको नाममा भाग लिएको थियो । आठ टिमलाई दुई समुहमा बाडेर नकआउट प्रतियोगिता संचालन भएको थियो । समग्रमा राम्रो प्याकेजका रुपमा कार्यक्रम सम्पन्न भएको उनले बताए । यो प्रतियोगिताले लुकेका धेरै राम्रो प्रतिभावान खेलाडीहरुलाई अवसर दिएको छ । आउने दिनमा ति युवा खेलाडीहरुले अवसर पाउने उनको दाबी छ । न्यूनतम यसबाट ३ जना खेलाडीले लुम्बिनी लायन्समा खेल्न पाउने छन । भने बाकी खेलाडीहरुलाई पनि अन्य उमेर समुह अवसरको ढोका खुलेको छ । प्रतियोगितामा आठ टिमका न्यूनतम १४ जना खेलाडी गरि ११२ जना खेलाडीहरुलाई लायन्सकै खर्चमा आवासिय सेवासहित खेलमा सहभागी बनाएको छ ।
पाँच नया खेलाडीसहित उपाधि चुम्ने दाउमा लुम्बिनी
अघिल्लो वर्षजस्तै यो वर्ष पनि रिजल्ट दिने लक्ष्यका साथ लुम्बिनी लायन्स अघि बढेको छ । पाँच जना खेलाडीहरु यसपटक टिममा परिवर्तन भएका छन । मेघा स्टारको रुपमा आशिफ शेखलाई भित्राएको लुम्बिनीको टिममा आकाश त्रिपाठी, अजय चौहान, अरनिको यादव, किशोर महतो छन । नया युवासंगै पुराना अनुभवी खेलाडीहरु समेत टिममा छ । मिश्रित खेलाडीहरुसहितको टिम फेरि च्याम्पियन बन्दै उपाधि उचाल्ने दाउमा रहेको लुम्बिनी लायन्सका कन्सल्टेन्ट कोच शक्ति गौचनको दाबी छ ।





















