बुटवल । रुपन्देहीको देवदहमा माउजर पेस्तोल खेलाउने क्रममा पड्किँदा एक युवक घाइते भएका छन् । देवदह नगरपालिका–५, मितेरी गाउँस्थित एक घरमा ४२ वर्षीय दुर्गा प्रसाद खरेलले पेस्तोल खेलाउने क्रममा अचानक पड्किँदा २२ वर्षीय रायन खत्री क्षेत्रीको दाहिने गालामा चोट लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले बताए ।
घाइते खत्रीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ । घटनापछि प्रहरीले घटनास्थलबाट म्यागजिनसहितको माउजर पेस्तोल बरामद गरेको छ । घटनामा संलग्न रहेको आशंकामा दुर्गा प्रसाद खरेल, कमल शर्मा र अमृत खरेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।





















