Spread the love

बुटवल । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले देशको अर्थतन्त्र चलायमान हुन नसक्दा निजी क्षेत्र निराश बनेको बताएका छन् । शनिबार रुपन्देही व्यापार संघको २५ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले आर्थिक गतिविधि विस्तार हुन नसक्दा उद्योगी–व्यवसायीको मनोबल कमजोर बन्दै गएको र निजी क्षेत्रले अनेकौँ चुनौतीको सामना गर्नुपरेको धारणा राखे ।
अध्यक्ष अग्रवालले जेनजी आन्दोलन पछि बनेको वर्तमान सरकारप्रति निजी क्षेत्रको ठूलो आशा भएपनि अर्थतन्त्र चलायमान बनाउन आशा गरे जस्तो काम हुन नसकेको गुनासो गरे । ‘सरकारले ल्याएको नीति कार्यक्रम र बजेटले नीजि क्षेत्र निकै उत्साहित भएको थियो ।’, उनले भने ‘सरकार गठन भएको ६ महिना पुग्यो तर, सरकारले व्यवसायी मैत्री वातावररण बनाउन नसक्दा मुलुकमा आर्थिक गतीविधि बढ्न सकेनन् । अहिले उद्योगी व्यवसायी पर्ख र हेरको अवस्थामा पुगेका छन् ।’ उनले आर्थिक सुस्तता र मन्दीको अवस्थाबाट छिटो उन्मुक्ति पायो भने मात्रै समग्र अर्थतन्त्रका स्टार्टअप र औद्योगिक क्षेत्रमा सुधार हुने बताए ।
अध्यक्ष अग्रवालले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नियमित सञ्चालन नहुँदासम्म यस क्षेत्रका व्यवसाय चलायमान हुन नसक्ने धारणा राखे । लुम्बिनी प्रदेशबाट अबौँ मुल्यका बिभिन्न उत्पादन बिदेश निर्यात गर्नसक्ने सम्भावना रहेको उल्लेख गर्दै उनले त्यसका लागि सरकारले उपयुक्त वातावरण तयार गर्नुपर्नेमा जोड दिए । बुटवल–भैरहवालाई एकिकृत आर्थिक तथा व्यापारीक करिडोर बनाउनुपर्नेमा उनले बताए ।
संघका अध्यक्ष प्रकाश ढकालले कोरोना महामारी र जेनजी आन्दोलनपछि उद्योगी–व्यवसायीले थप चुनौतीको सामना गर्नुपरेको बताए । बजारको सुस्तता, लगानीको असुरक्षा, उच्च भाडादर, दोहोरो कर, अस्थिर बैंक व्याजदर, खुला सीमाना तथा मुख्य बजार क्षेत्रमा सवारी पार्किङको समस्यालगायतका विभिन्न अवरोधले व्यवसायिक गतिविधि प्रभावित भइरहेको उनले बताए । उनले व्यापारिक गतिविधि सहज बनाउन सरकारबाट पूर्वाधार र आपूर्ति प्रणालीलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । छिमेकी मुलुक चीनसँग जोडिएका मुख्य सडक अवरुद्ध हुँदा चाडपर्वको मुखमा अर्बौँ रुपैयाँ बराबरका सामान बाटोमै रोकिएको उल्लेख गर्दै अध्यक्ष ढकालले अवरुद्ध सडक सञ्चालनका लागि सरकारले तत्काल पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय सरकार सधैं व्यवसायीहरुको साथमा रहेको बताउँदै उद्योगी व्यवसायिका समस्या समाधानका लागि आबश्यक पहल गर्ने प्रतिवद्धता जनाइन् ।
संघका पूर्वअध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले पछिल्लो समय उद्योगी–व्यवसायीमा बढ्दै गएको निराशा चिर्न आवश्यक रहेको बताए । सरकारले लगानी र व्यवसायको सुरक्षाको ग्यारेन्टी नगरेसम्म लगानीको वातावरण बन्न नसक्ने उनको भनाइ थियो । व्यवसायीको हकहित संरक्षण तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि निजी क्षेत्रको नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा पोखरेलले जोड दिए ।
संघका पूर्वअध्यक्ष मोतिलाल पाण्डेले संघको हित विपरीत कुनै गतिविधि हुन नदिन सबैजना एकजुट हुनुपर्ने धारणा राखे । नियमसंगत दर्ता गरी वार्षिक रुपमा कर तिरेर रोजगारी सिर्जना गरेको नीजि क्षेत्रलाई सरकारले विभिन्न बाहानामा आतंकित पार्न नहुने उनले बताए । उनले संघलाई यहाँसम्म ल्याइपु¥याउन सबैको भूमिका रहेको र पूर्व अध्यक्षको हैसियतमा सधै संघको विकासमा आफू प्रतिबद्ध रहने पनि बताए ।
कार्यक्रममा तिलोत्तमा व्यापार संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन हुन नसक्दा यस क्षेत्रका व्यवसायीले गरेको करोडौँ रुपैयाँ लगानी जोखिममा परेको बताए । विमानस्थल सञ्चालनलाई प्रभावकारी र नियमित बनाउन नसक्दा पर्यटन तथा व्यवसायिक गतिविधिसमेत प्रभावित भएको उनको भनाइ थियो ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले स्थानीय सरकारबाट उद्योगी–व्यवसायीलाई संरक्षण र सहजीकरण गर्नुपर्नेमा विभिन्न बहानामा आतंकित पार्ने काम गरेको गुनासो गरे । रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले सिमानाकाबाट अवैध रुपमा कर छलिका सामान भित्रिँदा यहाँका उद्योगी व्यवसायी वर्षौँदेखि समस्यामा रहेको गुनासो गरे । भन्सारमा करको दर नघट्दासम्म यहाँका उद्योगी व्यवसायीले भारतिय सिमावर्ती क्षेत्रका व्यवसायीसँग प्रतिस्पर्धा गर्न नसक्ने धारणा राखे ।
कार्यक्रममा संघका महासचिव प्रकाशराज पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बिभिन्न कार्यक्रमहरु र आगामी योजनाबारे जानकारी गराए । उनका अनुसार हाल संघमा २ हजार ६ सय बढी व्यवसायी आबद्ध रहेका छन् । यस्तै संघका बरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारी, प्रथम उपाध्यक्ष ऋषिराम पाण्डे लगायतले बदलिदो समयसँगै नयाँ पुस्तालाई व्यवसायमा आकर्षित गर्नुपर्नेमा जोड दिए ।
सोही अवसरमा संघलाई सहयोग गर्ने बिभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरीएको थियो । यस्तै संघले जिल्लामा सुरक्षा प्रबन्ध गर्ने नयाँ अभियानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई १ लाख १३ हजार रुपैयाँ र संघको साधारण सदस्य रहेको लुम्बिनी पुस्तक पसलमा आगलागी भई क्षति पुगेकोले व्यवसायी कल्याणकोषबाट रु.२५हजार हस्तान्तरण गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्