बुटवल, १७ असोज ।
विश्व अहिंसा दिवसमा शान्ति समाज रुपन्देहीले बुवलमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शान्ति समाज समाजका सभापति अर्जुन ज्ञवालीले अहिंसासम्बन्धी कविता प्रस्तुत गर्दै अहिंसा कुनै औपचारिक दिवसमा गरिने सम्झना मात्र नभई दैनिक जीवनमा अपनाउनुपर्ने आचरण भएको बताए। उनले अहिंसाको सुरुवात परिवारबाट हुनुपर्ने र त्यसको प्रभाव टोल, समाज, राष्ट्र हुँदै विश्वसम्म पुग्नुपर्ने धारणा राखे।
ज्ञवालीले “बोलीमा अहिंसा, व्यवहारमा अहिंसा र आचरणमा अहिंसा” स्थापित गर्न सके मात्र शान्तिपूर्ण समाज निर्माण हुने उल्लेख गर्दै मानिसले अर्को व्यक्तिलाई चोट पु¥याउने शब्द, घृणा र विभेदबाट समेत टाढा रहनुपर्ने बताए।
कार्यक्रममा राससका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईं, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कृष्ण पाण्डे तथा पर्यावरण संरक्षण समाज नेपालका अध्यक्ष गङ्गा पोखरेलले अहिंसा, मानव अधिकार, शान्ति, सामाजिक सद्भाव र पर्यावरण संरक्षणका विषयमा धारणा राखेका थिए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधि, पत्रकार, नागरिक समाज, मानव अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूको सहभागिता थियो।




















