धनुषा । धनुषाको बटेश्वर गाउँपालिका–३ र ४ (साविक बटेश्वर गाविस वडा नं. १ देखि ९) का १८६ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय परिवारले लालपुर्जा प्राप्त गरेसँगै आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा स्थापित गरेका हुन् । नापी कार्यालय धनुषाले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो ।
उक्त क्षेत्रको नापजाँच कार्य २०७४ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लालपुर्जा वितरण हुन सकेको थिएन । लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि अहिले १८६ थान जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।
लालपुर्जा प्राप्त भएपछि स्ववासी परिवारलाई जग्गाको स्वामित्वसम्बन्धी कानुनी अधिकार प्रयोग गर्न सहज हुने भएको छ । जग्गाको स्वामित्व स्पष्ट भएपछि भूमिसम्बन्धी विवाद समाधान गर्नसमेत सहज हुने अपेक्षा गरिएको छ ।
त्यस्तै, जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका परिवारले आवश्यक प्रक्रिया पूरा गरी आफ्नो जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सक्नेछन्। यसले स्थानीय बासिन्दाको आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नापी तथा भूमि प्रशासनसम्बन्धी प्रक्रिया लामो समयसम्म रोकिँदा स्ववासी परिवारहरू जग्गाको कानुनी स्वामित्वबाट वञ्चित हुँदै आएका थिए । लालपुर्जा वितरणसँगै उनीहरूको लामो समयदेखिको प्रतीक्षा समाप्त भएको छ । यसअघि धनुषाका ४ हजार ५५४ परिवारले लालपुर्जा प्राप्त गरिसकेका छन् ।




















