काठमाडौँ, १५ असोज ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ निर्माणको प्रक्रिया अघि बढाएको छ । ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर मन्त्रालयले ज्येष्ठ नागरिकले जीवनभर सञ्चित गरेको ज्ञान, सीप र अनुभव जोगाएर नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले यो नयाँ अवधारणा ल्याएको हो ।
अनुभव बैंकमार्फत विद्यार्थी, युवा तथा नयाँ पुस्ताले ज्येष्ठ नागरिकका सिकाइबाट निःशुल्क रूपमा मार्गदर्शन लिन सक्ने वातावरण तयार पारिने मन्त्रालयले जनाएको छ । ज्येष्ठ नागरिकलाई राज्यबाट सेवा लिने लाभग्राहीका साथै नयाँ पुस्तालाई मार्गदर्शन गर्ने ज्ञानदाताका रूपमा स्थापित गर्दै उनीहरूको जीवनलाई मर्यादित र अर्थपूर्ण बनाउन अनुभव बैंकले महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्रालयको विश्वास छ।
ज्येष्ठ नागरिकसँग रहेको सिकाइलाई राष्ट्रको अमूल्य बौद्धिक तथा सामाजिक सम्पदा मान्दै मन्त्री सिता बादीले अनुभवको संरक्षण र पुस्तान्तरणलाई संस्थागत रूप दिन डिजिटल प्रविधिको उपयोग गरिने बताइन् ।




















