Spread the love

आजकल जता हेर्यो त्यतै एउटै मात्र आवाज सुनिन्छ— “देश बनाउनुपर्छ !“ । बिहानको चिया पसल होस्, चौतारीका पीपलका रूखमुनिका बसाइ हुन्, वा कुनै संघसंस्थाका बैठकहरू; सबैतिर देशको राजनीति, अर्थतन्त्र र कसले के बिगार्यो भन्ने कुरामा घन्टौँ बहस चलेको हुन्छ । फेसबुक वा टिकटक खोलियो भने पनि देश कसरी कायापलट गर्ने भन्ने बौद्धिक स्टाटस र भिडियोहरू छ्याप्छ्याप्ती भेटिन्छन् । तर, कहिले एकछिन एक्लै बसेर गम्भीर भएर सोचेका छौँ— यो सब गर्दा हामीले आफ्नो जीवनको सबैभन्दा सुनौला र ऊर्जाशील वर्षहरू कहाँतिर फालिरहेका छौँ ?

साँचो कुरा गर्ने हो भने, अहिले धेरैजसो युवाहरू वास्तविक कामभन्दा कुरामा बढी व्यस्त छन् । युवा उमेर भनेको त केही गरेर देखाउने, नयाँ सीप सिक्ने र आफ्नो भविष्यको बलियो जग बसाल्ने बेला हो । तर विडम्बना, यही उमेर हामीले चियाको कप र चोकका गफगाफमा उडाइरहेका छौँ । विश्वका ठूला अर्थशास्त्रीहरूले पनि बारम्बार भनेका छन् कि समाज बदल्ने वा देश बनाउने कुरा त टाढाको विषय हो, जबसम्म एउटा मान्छे आफैँ आर्थिक रूपमा सक्षम हुँदैन, तबसम्म उसले न त आफ्नो परिवारलाई सुख दिन सक्छ न त समाजका लागि नै केही गर्न सक्छ । देश भनेको कसैले भाषण गरेर वा टाढाबाट बाहिरियाले आएर बनाइदिने चिज होइन, यो त हामी प्रत्येक नागरिकको व्यक्तिगत पसिना र आर्थिक सबलताले बन्ने हो ।

इतिहास फर्केर हेर्ने हो भने पनि दक्षिण कोरिया, सिंगापुर वा जापान रातारात बनेका होइनन् । ती देशका युवाहरूले चोकमा बसेर देशको आलोचना गरेर समय बिताएनन्। उनीहरूले आफ्ना प्रयोगशाला, कलकारखाना र खेतबारीमा रगत–पसिना बगाए। बीसौँ शताब्दीको मध्यमा चरम गरिबीमा बाँचिरहेको दक्षिण कोरिया आज विश्वको आर्थिक महाशक्ति बन्नुको पछाडि त्यहाँका युवाहरूको कडा मेहनत र प्राविधिक शिक्षाप्रतिको लगाव मुख्य कारण हो । सिंगापुरका संस्थापक लि क्वान यूले पनि नागरिकहरूलाई गफमा अल्झिनुभन्दा व्यक्तिगत अनुशासन, इमानदारी र कामप्रतिको निष्ठामा जोड दिन सिक, अनि मात्र देश बन्छ भनेका थिए । यसबाट प्रस्ट हुन्छ कि देश बनाउनु छ भने पहिले हामी आफैँ सक्षम, ज्ञानी र कर्मठ बन्नुपर्छ। जब यहाँका लाखौँ युवाहरू व्यापार, उद्योग, प्रविधि र कृषिमा आफ्नै खुट्टामा उभिन्छन्, तब देश आफैँ बन्न थाल्छ, बेग्लै अभियान चलाइरहनु पर्दैन ।

अहिले हाम्रो देशको यथार्थ हेर्दा निकै कहालीलाग्दो अवस्था छ। एकातिर, आफ्नै माटोमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास गुमाएर हजारौँ युवाहरू खाडीका मरुभूमिदेखि पश्चिमा देशहरूतिर भौंतारिरहेका छन् । अर्कोतिर, जो स्वदेशमै केही गर्ने अठोटका साथ सानोतिनो व्यापार वा व्यवसाय सुरु गर्छन्, उनीहरू पनि बजारको ज्ञान, वित्तीय साक्षरता र व्यवस्थापकीय तालमेल नमिल्दा केही महिनामै टाट पल्टिएर बस्न बाध्य छन्। यस्तो बेलामा कामभन्दा कुरा धेरै गर्ने, सामाजिक सञ्जालमा भाइरल हुनका लागि मात्र क्रान्तिकारी कुरा गर्ने प्रवृत्तिले हाम्रो पुस्तालाई भित्रभित्रै खोक्रो बनाउँदै लगेको छ । यो निकै घातक छ, किनकि यसले हामीलाई व्यावहारिक रूपमा कमजोर बनाउँदै चरम निराशाबाहेक केही दिँदैन ।

त्यसैले, अब समय आएको छ— हामीले आफ्नो बाटो बदल्न जरुरी छ। कुरा गर्नुभन्दा काममा विश्वास गरौं। प्रमाणपत्रको खोस्टो बोकेर मात्र अब केही हुँदैन; आजको युग भनेको प्राविधिक सीप, व्यापारिक समझ र बजारको माग बुझ्ने युग हो । जागिरको पछि मात्र कुद्नुभन्दा सानै भए पनि आफ्नै व्यवसाय वा उद्यमशीलताको थालनी गर्ने हिम्मत गर्नुपर्छ । जबसम्म हामी अरूसँग रोजगारी माग्ने मात्रै बन्छौँ, तबसम्म न त हामी सुध्रन्छौं न देश । चोकका निरर्थक बहस र सामाजिक सञ्जालको अनावश्यक लतबाट निस्किएर आफ्नो अमूल्य समयलाई उत्पादनशील काममा लगाऔँ ।

अन्तमा यति नै भनुँ कि, देश बनाउने भनेको कसैलाई उपदेश दिने वा राजनीतिक भाषण गर्ने कुरा होइन । यो त आफ्नो जीवनलाई इमानदार, सक्षम र आत्मनिर्भर बनाउने एक व्यक्तिगत यात्रा हो । जब तपाईं आफैँ आर्थिक रूपमा बलियो हुनुहुन्छ र आफ्नै खुट्टामा उभिहाल्नुहुन्छ, तब तपाईंले देश बनाइरहनु पर्दैन, तपाईंको सफलता र कर्मले नै देश बनाइरहेको हुन्छ। त्यसैले, गफ कम, काम धेरै गरौँ !

लेखक ः अमृत भुषाल, अभियन्ता

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्