बुटवल । रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’को एक ब्याचमा खाद्य पदार्थमा समस्या देखिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट तत्काल फिर्ता (रिकल) गर्न आदेश दिएको छ । विभागले २०८३ असोज ५ गते जारी गरेको खाद्य पदार्थ फिर्ता सम्बन्धी आदेशमा साई कृपा चिया उद्योग प्रालि, रुपन्देहीबाट उत्पादित चियाको नमुना प्रयोगशाला परीक्षण गर्दा खाद्य पदार्थ दूषित पाइएको उल्लेख छ ।
विभागका अनुसार १ हजार ग्राम प्याकेटमा रहेको ‘साई कृपा गोल्ड चिया’, ब्याच नम्बर ८३.डि.०५ रहेको उत्पादन मिति जुलाई २०२६ रहेको उत्पादन फिर्ता गर्नुपर्ने भएको हो । बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलित नमुना प्रयोगशालामा परीक्षण गर्दा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्डअनुसार उपयुक्त नभएको पाइएपछि विभागले सम्बन्धित उत्पादनलाई बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको हो ।
आदेशमा उक्त ब्याचका सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्नुका साथै बिक्री–वितरण नगर्न÷नगराउन सम्बन्धित उत्पादकलाई निर्देशन दिइएको छ । विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ का सम्बन्धित प्रावधानअनुसार महानिर्देशकको निर्णयका आधारमा उक्त आदेश जारी गरेको जनाएको छ ।




















