काठमाडौँ । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपास रहेको बलियो न्यून चापीय प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना छ।
यसको प्रभावले हाल देशभर अधिकांश बदली रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा बागमतीका केही स्थानमा वर्षा भइरहेको छ। कोशी र मधेसका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। दिउँसो देशभर अधिकांश बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा तथा कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका अधिकांश स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकीका तराई भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कोशी र बागमतीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।
राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा अधिकांश बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा तथा बागमतीका हिमाली र पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेसका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही स्थानमा हावाहुरीसमेत चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।





















