बुटवल, ९ असोज ।
बुटवलमा सम्पन्न आन्तरिक ब्याडमिन्टन प्रतियोगिताको ए लेबलवाट अशोक प्रधान र अर्जुन कार्कीको जोडी प्रथम भएका छन । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा शुक्रवार भएको प्रतियोगितामा शम्भु भट्टराई र मदन कार्कीको जोडीलाई पराजित गर्दै प्रधान र कार्कीको जोडीले उपाधि चुमेको हो । प्रतियोगितामा भानु केसी र महेश्वर नेपाल तथा नारायण तिवारी र यमु पुनको जोडी तृतीय भएका छन ।
प्रतियोगिताकै बी लेवलतर्फ कृष्ण पौडेल र घनु नेपालको जोडीले उपाधि चुमेका छन । फाईनलमा सुदीप कंडेल र सुमन भट्टराईको जोडीलाई पराजित गर्दै उपाधि चुमेका हुन । प्रतियोगितामा जिवन अधिकारी र प्रवेश ज्ञवाली तथा प्रेम चौधरी र कृष्ण वरालको जोडी तृतीय स्थान हासिल गरे ।
त्यस्तै सी लेवलतर्फ दिनेश प्रधान र काशी श्रेष्ठको जोडीले उपाधि चुमेका छन । फाइनलमा नारायण केसी र दीवाकर ज्ञवालीको जोडीलाई पराजित गर्दै उपाधि चुमेका हुन । प्रतियोगिताको विजेता, उपविजेता खेलाडीहरुलाई ट्रफ्री, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ । विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसर पारेर क्लबका सदस्यबीच आपसी सद्भाव, भाइचारा र खेलकुदप्रतिको उत्साह अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लवका प्रथम उपाध्यक्ष शम्भु भट्टराईले बताए ।
प्रतियोगितामा ए, बी र सी लेभलका गरी ४२ टिमको सहभागिता रहको क्लबका अध्यक्ष नलराज नेपालले बताए । क्लबका द्वितीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक दल बहादुर क्षेत्रीले पर्वको अवसरमा क्लबभित्रका खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्नुका साथै ब्याडमिन्टन खेलप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । क्लबले नियमित खेलकुद गतिविधिमार्फत ब्याडमिन्टन खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धिमा योगदान पु¥याउँदै आएको सहसचिव टीकाराम पन्थीले बताए ।






















