बुटवल । सम्भावित विपद् तथा आपत्कालीन अवस्थाका बेला स्वास्थ्य सेवा प्रभावकारी र निरन्तर बनाउने उद्देश्यले बुटवल हस्पिटल प्रा.लि.ले डिजास्टर म्यानेजमेन्ट कमिटी गठन गरेको छ । विपद्का समयमा अस्पतालमा एकैपटक ठूलो संख्यामा घाइते तथा बिरामी आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै अस्पतालको आपत्कालीन व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित बनाउन समिति गठन गरिएको हो ।
मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद खनालको नेतृत्वमा गठन गरिएको समितिमा अस्पतालका विभिन्न विभागका प्रमुख तथा सम्बन्धित शाखाका जिम्मेवार पदाधिकारीहरूलाई समेटिएको अस्पतालका अध्यक्ष चुन्नप्रसाद पौडेलले बताए । अध्यक्ष पौडेलले विपद्को समयमा अस्पतालको जिम्मेवारी अझ बढ्ने भएकाले जुनसुकै आपत्कालीन परिस्थितिको सामना गर्न सक्ने गरी अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिए ।
शुक्रबार कार्यक्रम गरि विपद्को समयमा अस्पतालको सेवा निरन्तरता, आकस्मिक बिरामीको व्यवस्थापन, जनशक्ति परिचालन, बेड तथा भौतिक स्रोतको व्यवस्थापन, आपत्कालीन सञ्चार प्रणाली र विभिन्न विभागबीचको समन्वयलगायतका विषयमा छलफल गरिएको हो । विपद्का बेला अस्पतालमा बिरामीको चाप अचानक बढ्न सक्ने भएकाले ट्रायाज, प्राथमिक उपचार, आकस्मिक शल्यक्रिया तथा उपचार, बिरामी उद्धार र जनशक्ति परिचालनलाई प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको अस्पतालले जनाएको छ ।
मेडिकल सुपरिटेन्डेन्ट डा. खनालले विपद् पूर्वतयारी र स्पष्ट कार्ययोजना नै प्रभावकारी विपद् व्यवस्थापनको आधार भएको बताए । उनले सम्भावित विपद्का समयमा अस्पतालका सबै विभाग र कर्मचारीबीच तत्काल समन्वय हुने गरी जिम्मेवारी स्पष्ट पारिनुपर्ने बताए ।
कार्यक्रममा अस्पतालका जनरल म्यानेजर देवेश कर्ण, प्रशासन प्रमुख विक्रम खड्का, सञ्चालक चन्द्रकान्त शर्मालगायतले विपद् व्यवस्थापनमा अस्पतालको तयारी, स्रोतसाधन र जनशक्ति परिचालनका विषयमा धारणा राखेका थिए । १ सय शैय्या क्षमताको बुटवल हस्पिटल प्रा.लि. यस क्षेत्रका सुविधासम्पन्न निजी अस्पतालमध्ये एक हो ।






















