बुटवल, २८ भदौ ।
बुटवलका पावरलिफ्टर पंकज राई काठमाडौंमा आयोजित हिमालय रओ पावरलिफ्टिङ राष्ट्रिय खेलकुद प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । विश्व रओ पावरलिफ्टिङ एसोसिएसनको आयोजना भएको प्रतियोगिताको मास्टर्स ४० वर्षमाथि समूहमा प्रतिस्पर्धा गरेका राईले तेस्रो स्थान हासिल गर्दै पदक जितेका हुन् ।
उक्त स्पर्धामा मनिष शाक्य प्रथम तथा डा. जितेन्द्र दोस्रो भएका थिए । राष्ट्रियस्तरको प्रतियोगितामा बुटवलको प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि सुखद र अविस्मरणीय अनुभव भएको राईले बताए । उनले आफ्नो यात्रामा साथ, हौसला र प्रेरणा दिने सबैप्रति आभार व्यक्त गरे । राईले ४० वर्षपछि पनि प्रतियोगितामा भाग लिनु केवल पदक जित्नु मात्र नभई अनुशासन, निरन्तर प्रयास र आफ्नो शरीरप्रतिको जिम्मेवारीको परिणाम भएको बताए ।
उनका अनुसार ४० वर्षपछि फिटनेसको अर्थ युवासँग प्रतिस्पर्धा गर्नु नभई हिजोभन्दा आफूलाई अझ बलियो, स्वस्थ र सक्षम बनाउँदै लैजानु हो । राईको यो सफलताले उमेर बढ्दै गएपछि पनि नियमित प्रशिक्षण र अनुशासित जीवनशैलीमार्फत खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्न सकिने सन्देश दिएका छन ।




















