नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२ जनाको शव भेटिएको छ। उक्त घरबाट सुरक्षाकर्मीको र टोलीले सोमबार ६ वटा शव निकालेको छ । अन्य १६ वटा शव मंगलबार निकालिने भएको छ ।
बुधबार बिहान रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले बेत्रावती बजारलाई तहसनहस बनाएको थियो । बाढी आएको छैटौँ दिनपछि बल्ल सोमबार खोजी तथा उद्धारका क्रममा लेदोले पुरिएको उक्त घरभित्र एकै ठाउँमा २२ जनाको शव भेटिएको हो । बाढीका बेला ती मानिस त्यस घरमा भेला भएको हुन सक्ने अनुमान गरिएको छ। अहिले भेटिएका शवहरू पहिचान गर्न नसकिने अवस्थामा छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले बेत्रावतीमा पुरिएको एक घरभित्र ठूलो संख्यामा शव भेटिएको बताएका छन् । सोमबार केही शव निकालिएको बताएका छन् । बाँकी शव संकलनको काम मंगलबार निकालिने उनले बताए ।
यसअघि बेत्रावतीस्थित पत्रकार लक्ष्मण डंगोलले उक्त घरमा तत्काल खोजी गर्न माग गरेका थिए । प्रमुख जिल्ला अधिकारीदेखि प्रधानमन्त्रीसम्मलाई उद्धारका लागि आग्रह गरिँदा सुनुवाइ नभएको उनले बताएका छन् ।






















