Spread the love

बुटवल, १६ भदौ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि बुटवल ब्याडमिन्टन क्लबले एक लाख ६६ हजार ६ सय ६६ रुपैयाँ आर्थिक सहयोग गरेको छ । बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध तथा पुनःस्थापनामा सहयोग हुने गरि क्लबका सदस्य तथा खेलाडीहरूबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा रकम हस्तान्तरण गरेको हो ।

भोटेकोशीमा आएको बाढीले धेरै नागरिक प्रभावित भएको बेला खेलाडी र खेलकुद क्षेत्रमा लागेका व्यक्तिहरूबाट सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको क्लबका अध्यक्ष नलराज नेपालले बताए । सबैले आफ्नो क्षमता र हैसियतअनुसार थोरै–थोरै सहयोग रकम जुटाएको उनले बताए ।

सामाजिक संजालमा सहयोग गरेको धेरै समाचारहरु सुनिरहेको बेला आफहरु पनि यसको पहल गरेको आर्थिक संकलन अभियानको संयोजन क्लबका वरिष्ठ उपाध्यक्ष शम्भु भट्टराईले बताए । ठूलो रकम भन्दा पनि एउटा अभियानका रुपमा सबै खेलाडी र सदस्यहरूबाट संकलन गर्दै जाँदा एक लाख ६६ हजार ६ सय ६६ रुपैयाँ जम्मा भएको उनले बताए ।

बाढी, पहिरोजस्ता प्राकृतिक विपद्का कारण नागरिकको जनजीवन प्रभावित भइरहेका बेला सरकारी निकायसँगै विभिन्न संघसंस्था तथा नागरिकस्तरबाट समेत राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउन जरुरी रहेको क्लबका कोषाध्यक्ष बावुराम पाठकले बताए । बुटवलमा खेलकुद गतिविधिका प्रतियोगिता र शारीरिक स्वास्थ्यसँग मात्र सम्बन्धित नभई सामाजिक उत्तरदायित्वको क्षेत्रमा समेत बुटवल ब्याडमिन्टन क्लबमार्फत विगतबाट नै सहयोग गर्दै आएको उनले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्