Spread the love

इटहरी, ७ भदौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा ‘सन नेपाल क्लब मोटिभेटिङ कार्यक्रम’ इटहरीस्थित ¥याडिसन होटलमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बीमा व्यवसायको विस्तारसँगै बीमितको हित, जोखिम व्यवस्थापन र व्यावसायिक आचरणलाई प्राथमिकता दिन बीमा अभिकर्ताहरूलाई आग्रह गरे ।

अभिकर्ताले ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्यांकन गरी उपयुक्त बीमा योजना छनोट गर्नुपर्ने महर्जनको सुझाव थियो । बीमा योजना बिक्री गर्दा त्यसका सुविधा, सर्त, जोखिम तथा दायित्वबारे बीमितलाई स्पष्ट र पूर्ण जानकारी गराउनुपर्नेमा उनले जोड दिए ।

बीमा क्षेत्रमा देखिँदै आएको ‘मिसेलिङ’ समस्या न्यूनीकरणमा अभिकर्ताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले गलत, अपूर्ण वा भ्रामक सूचना प्रवाह नगर्न आग्रह गरे । अभिकर्ता बीमा कम्पनीका प्रतिनिधिसँगै कम्पनीको ब्रान्ड एम्बेसडरसमेत भएकाले उनीहरूको व्यवहारले कम्पनीको प्रतिष्ठा र समग्र बीमा क्षेत्रप्रतिको जनविश्वासमा प्रभाव पार्ने उनले बताए ।

महर्जनले अभिकर्ता आचारसंहिताको पूर्ण पालना गर्दै व्यावसायिक मर्यादा, पारदर्शिता र जिम्मेवारीलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए। बीमा गराएपछि पनि बीमितलाई आवश्यक सेवा, बीमालेखसम्बन्धी जानकारी तथा दाबी प्रक्रियामा सहजीकरण गर्नु अभिकर्ताको महत्वपूर्ण दायित्व रहेको उनको भनाइ थियो ।

कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्सका पदाधिकारी तथा विभिन्न तहका बीमा अभिकर्ताहरूको सहभागिता थियो। कार्यक्रममा अभिकर्ताहरूको उत्प्रेरणा, व्यावसायिक क्षमता अभिवृद्धि तथा बीमा व्यवसायलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्