Spread the love

काठमाडौं । नेपालमा सक्रिय रहेको पश्चिमी मौसमी प्रणालीका कारण देशका विभिन्न क्षेत्रमा भारी वर्षा, हिमपात तथा हिमपहिरोको जोखिम बढेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष बुलेटिनअनुसार बंगालको खाडीमा रहेको ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएको छ।

उक्त चक्रवातको प्रभावले आगामी कात्तिक ११ गते भारतको जमिनमा प्रवेश गर्ने सम्भावना रहेको र त्यसको प्रभाव नेपालको मौसममा समेत देखिन सक्ने जनाइएको छ । प्राधिकरणका अनुसार कात्तिक १२ गते बिहीबार रातिदेखि मौसममा परिवर्तन सुरु हुने सम्भावना छ । विशेषगरी आगामी कात्तिक १२, १३ र १४ गते शुक्रबार र शनिबार कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका बढी प्रभावित क्षेत्रमा चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको प्राधिकरणले जनाएको छ ।

सम्भावित जोखिम न्यूनीकरणका लागि प्राधिकरणले किसान, पर्यटक, यात्रु, स्थानीय तह तथा सम्बन्धित निकायलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । प्राधिकरणले कात्तिक १२ गतेदेखि धानबाली काट्ने, भित्र्याउने तथा अन्य कृषि कार्य नगर्न र गरिएका बाली सुरक्षित स्थानमा राख्न अनुरोध गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा जाने पर्यटकलाई मौसम प्रतिकूल हुने सम्भावनालाई ध्यानमा राख्दै यात्रा नगर्न तथा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ । त्यस्तै, आवश्यक परेमा सार्वजनिक तथा निजी सवारीसाधन र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले यात्राअघि मौसमको अवस्था र सम्बन्धित निकायबाट जारी सूचनाबारे जानकारी लिन प्राधिकरणले अनुरोध गरेको छ ।

सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले अनावश्यक यात्रा नगर्न, नगराउन तथा जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन पनि आग्रह गरिएको छ । सम्भावित विपद्को सामना गर्न संघीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय र स्वयंसेवकलाई तयारी अवस्थामा रहन प्राधिकरणले अनुरोध गरेको छ । जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई पूर्वसूचना तथा चेतावनीअनुसार सुरक्षित स्थानमा सर्न र आवश्यक विपद् प्रतिकार्यको तयारी गर्न पनि आग्रह गरिएको छ ।

प्राधिकरणले मौसम विज्ञान विभागलगायत सम्बन्धित निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान तथा चेतावनी नियमित रूपमा हेर्न र त्यसअनुसार सावधानी अपनाउन आग्रह गरेको छ । विपद्सम्बन्धी जानकारी तथा उद्धार सहयोगका लागि प्राधिकरणले राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका नम्बर ११४९, विपद्मा महत्त्वपूर्ण सहयोगका लागि ११३४ वा १०० तथा प्रहरीको १११४ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्