गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बुधबार दिउँसो करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा दुर्घटनामा परेको हो ।
स्कारपियो सडकबाट करिब २५० मिटर तल खसेको बताइएको छ । दुर्घटनामा निता बगालेसहित छ जनाको मृत्यु भएको छ । मृत्यु हुने अन्यमा स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलिपकुमार बगाले, वालिङ–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल वालिङ बस्दै आएका लोकनाथ पाण्डे र सीता पाण्डे तथा सिरकोट घर भई हाल बुटवलको खैरेनी बस्दै आएका कुलानन्द पाण्डे रहेका छन् । दुर्घटनामा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे र गोमता पाण्डे तथा स्याङ्जाको वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी घाइते भएका छन् ।
घाइते छविलाल पाण्डेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ । गोमता पाण्डेको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ भने बालकृष्ण सुवेदीलाई मिर्मीबाट थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा रेफर गरिएको छ । दुवैको अवस्था मध्यम रहेको जनाइएको छ । दुर्घटनामा घाइते भएकी निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । दुर्घटनापछि उद्धार टोलीले घटनास्थलबाट मृतक तथा घाइतेलाई उद्धार गरी विभिन्न अस्पतालमा पु¥याएको थियो ।


















