काठमाडौं,५ भदौ ।
दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्नो उत्पादन ‘डीडीसी घिउ’ मध्यपूर्वका देशहरूमा निर्यात गर्न सुरु गरेको छ । डीडीसीका महाप्रबन्धक डा. शरण पाण्डेका अनुसार शुक्रबार नेपाल एयरलाइन्सको उडानमार्फत पहिलो चरणमा ५ सय किलो घिउ दुबई पठाएर निर्यातको औपचारिक सुरुवात गरिएको छ ।
डीडीसीले मध्यपूर्वका देशमा वार्षिक ५० हजार किलो (५० टन) निर्यातका लागि सम्झौता भइसकेकोे महाप्रबन्धक डा. पाण्डेले बताए । उनका अनुसार ’हाल घिउ उत्पादन कम भएका कारण पहिलो वर्ष ५० टन निर्यातका लागि मात्रै सम्झौता गरिएको र आगामी दिनमा उत्पादन बढाएपछि विदेश निर्यात हुने छ ।
डीडीसीले मध्यपूर्वसँगै अन्य देशहरूमा पनि बजार विस्तारको काम तीव्र पारेको र केही समयपछि नै जापान र दक्षिण कोरिया लगायत देशमा समेत घिउ निर्यात हुने संस्थानले जनाएको छ ।






















