बुटवल, २६ साउन ।
पाँच दिनदेखि ग्यास नपाउँदा बुटवलकी सबिता खनाललाई घरमा खाना पकाउन समस्या भयो । बजारका विभिन्न ठाउँमा ग्यास खोज्दा पनि नपाएपछि उनी पाँच दिनसम्म होटलमै खाना खान बाध्य भइन् । विद्यार्थी जीवन, डेराको बसाइ र त्यसैमाथि लगातार होटलमा खाना खानुपर्दा आर्थिक बोझ थपिएको उनी बताउँछिन् । “बजारभरि ग्यास खोजेँ, तर कतै पाइएन । पाँच दिनसम्म होटलमै खाना खानुप¥यो,” उनले भनिन् । ग्यासको अभाव कायमै रहेपछि मंगलबार बिहान उनी बुटवलस्थित बाल मन्दिरमा ग्यासको लाइनमा भेटिइन् ।
लामो समयको प्रतीक्षापछि मंगलबार ग्यास पाएपछि सबिता मात्र होइन, उनीजस्तै लाइनमा बसेका धेरै उपभोक्ताको अनुहारमा खुसी देखिन्थ्यो । घरमै खाना पकाउन नपाउँदा दैनिक जीवन प्रभावित भएको र होटलको खानाले खर्च बढाएको उनीहरूको गुनासो छ । ग्यास पाएपछि भने केही दिनदेखि झेल्दै आएको समस्या तत्कालका लागि समाधान भएको उपभोक्ताहरूले बताएका छन् । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै जादा नेपाल आयल निगमले बुटवल र भैरहवामा आफैँ ग्यास वितरण सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देही, नेपाल आयल निगम, ग्यास उद्योगी तथा ग्यास विक्रेता संघबीच भएको निर्णयअनुसार वितरण केन्द्र स्थापना गरी मंगलबारदेखि ग्यास वितरण सुरु गरिएको हो ।
बुटवल उपमहानगरपालिका–६ हाटबजारलाइनस्थित बालमन्दिर र भैरहवामा राष्ट्रिय खाद्य तथा व्यापार कम्पनी लिमिटेडको परिसरबाट ग्यास वितरण गरिएको नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख शैलेन्द्र भुसालले बताए । विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, किरियापुत्रीमा बसेका व्यक्ति, रातो कार्ड प्राप्त सुकुम्बासी तथा लामो समयदेखि ग्यास नपाएर चुल्हो नै नबलेका उपभोक्तालाई प्राथमिकतामा राखेको उनको दाबी छ । ग्यास वितरणका लागि विभिन्न उद्योगका फरकफरक समुह बनाई वितरण गरिएको छ ।
बुटवलमा निगमले ग्यास वितरण गर्ने भएपछि बिहान ८ बजेदेखि नै उपभोक्ताहरू बालमन्दिरस्थित वितरण केन्द्रमा लामबद्ध भएका थिए । लामो समयसम्म ग्यासको अभावको कारण प्रभावित विद्यार्थी, डेरामा बस्ने तथा न्यून आय भएका परिवारहरुलाई केन्द्रमार्फत वितरण गरिदा राहत मिलेको छ । मंगलबार बुटवल र भैरहवा गरि करीब ३ हजार ग्यास सिलिण्डिर वितरण भएको छ ।
भिडियो रिर्पोट





















